Logo

उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ



चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी ९विप्लव० दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताउनुभयो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक कार्कीले निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बताउँदै निर्वाचन नसकिउन्जेलसम्म उनीहरुलाई छाड्ने सम्भावना नरहेको भन्नुभयो ।

आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताका लागि मान्य नभएको भन्दै उनीहरुले उम्मेदवारी दिएकालाई फिर्ता लिन पत्राचारमार्फत धम्की दिएको प्रहरीको दावी छ । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख गरिएको जनाएकोे छ । रासस



प्रतिक्रिया दिनुहोस्