Logo

न्यायापालिकाले कार्यपालिका र व्यवस्थापिकाविरुद्ध हस्तक्षेप गर्यो, अब हामी राजनीतिक निकास निकाल्छौंः विश्वकर्मा



काठमाडौं, २२ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्तावका प्रस्तावक एवम् नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले सर्वोच्च अदालतले कार्कीलाई आजैबाट काममा फर्कनेगरि दिएको आदेशलाई कार्यापालिका र व्यवस्थापिकाविरुद्धको हस्तक्षेपको संज्ञा दिएका छन् ।

अदालतको यस्तो आदेश आएलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकबाट बाहिरिने क्रममा सांसद विश्वकर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सर्वोच्चको यो आदेशसँगै संवैधानिक र राजनैतिक अन्यौलता छाएको छ, न्यायापालिकाले कार्यपालिका र व्यवस्थापिकाविरुद्ध हस्तक्षेप गर्यो, हामी अब राजनीतिक निकास निकाल्छौं।’

उनले नेपाल सरकारका महान्यायधिवक्ता पनि सत्तारुढ दलको बैठकमा सहभागी भएकोबारे टिप्पणी गर्दै भने,‘उहाँले राय दिने कुरा हो, अहिले शीर्षस्थ नेताहरुबीच गम्भिर छलफल भैरहेको छ, प्रधानमन्त्रीजी र हाम्रो पार्टीका सभापति शेरबहादुर देउवावीच अहिले वान टु वान छलफल जारी छ।’

एमालेले त सर्वोच्चको आदेशको स्वागत गरिसकेको छ नि भनेर एक पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘एमालेको कुनै नेताले प्रतिक्रिया दिनुभएको होला, तर यो संसदीय सर्वोच्चतामाथिको अपहरण हो । सबै न्यायाधिश खराब भन्दापनि, हामी सबैले बुझ्ने कुरा संविधान हो, तर आजको अदालतको आदेशमा संविधानको कुनै पनि धारा उल्लेख छैन, धारा उल्लंघन भएको भन्ने कुराको किटान छैन, त्यसैले अहिले राजनीतिक निकास निकाल्नेबारे छलफल भैरहेको छ।’ विश्वकर्माले अदालतको आदेशपछि कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्रीले सबै दलहरुसँग छलफल गर्ने तयारी गरेको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्