Logo

राष्ट्रपतिसँग राजपाका नेताहरुको छलफल



काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग आज छलफल गर्नुभएको छ ।

शीतलनिवासमा भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको राष्ट्रपतिका राजनीतिक तथा मानवअधिकार विज्ञ सुबोध प्याकुरेलले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राजपाले मधेस केन्द्रित साना पार्टीलाई एकीकृत गरेर राष्ट्रिय दायित्व निर्वाह गरेकामा खुसी व्यक्त गर्दै देश निर्वाचनतर्फ होमिएको र त्यसमा राजपाको पनि सक्रिय सहभागिता रहनुपर्ने धारणा राख्नु भएको थियो ।

जवाफमा राजपाका नेताहरुले राष्ट्रपतिले आफ्ना समस्याबारे जानकारी लिएकोमा खुसी व्यक्त गर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । संविधान क्रियाशील गराउन आफूहरुको पनि दायित्व भएको तर त्यसमा केही गुनासाहरु सम्बोधन होस् भन्ने चाहना रहेको बताएको विज्ञ प्याकुरेलले उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति भवन पुग्ने राजपा शीर्ष नेताहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवलगायत हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्