Logo

चन्दननाथमा पर्यटनमा जोड



जुम्ला, २३ वैशाख । चन्दननाथ नगरपालिकामा ‘प्रमुखका उम्मेदवारसँग नगरवासी’ विषयमा शुक्रबार भएको अन्तक्र्रियामा तीन उम्मेदवारले नगरपालिकालाई हिमाली जिल्लाको नमुना सहर बनाउने, पर्यटकीयस्थलमा केबलकार राख्ने, कृषि क्रान्ति गर्ने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन, जुम्लाले आयोजना गरेको बहसमा नगरवासीले प्रमुखका उम्मेदवारलाई तपाईंलाई हाम्रो भोट किन भन्ने प्रश्न राखेका थिए ।
नेकपा(माओवादी केन्द्र)बाट प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले ‘हाम्रो नगर, हिमाली नमुना सहर’ नाराअन्तर्गत दुई वर्षभित्र नगर पर्यटक चक्रपथ, सामुदायिक पुस्तकालय, मनोरञ्जन उद्यान, उज्यालो नगर, नगर आर्थिक विशेष कोष, ठिन्के र जुगाडखोला सरसफाइ व्यवस्थापन, रारा जोड्ने सडक, राष्ट्रियस्तरको रङ्गशाला, नगरपालिकामा एक घर एक धारो र एक घर एक चर्पी, शुद्ध पिउने पानी, पर्यटकीय केन्द्र र नगर तथा खस सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

त्यस्तै राप्रपाबाट उपप्रमुखका उम्मेदवार मनसुर सुनारले ‘विभेदमुक्त समाज, गरिब उत्थान कार्यक्रम’को नाराअन्तर्गत जुम्लाको पर्यटकीय क्षेत्र ठाकुरज्यू विष्टज्यू मालिका जोड्न केबुलकारको पहल गर्ने, भ्रष्ट्राचारमुक्त समाज निर्माणमा लाग्ने र सफा नगर बनाउने योजना रहेको जनाउनुभयो । उहाँले युवालाई स्वरोजगार गराउने कार्यक्रम पनि अघि बढाइने छ भन्नुभयो ।

प्रमुखका लागि नयाँ शक्ति पार्टीका उम्मेदवार दानबहादुर महतले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण गरिने योजना सुनाउँदै भ्रष्टाचार र अनियमिततालाई चिर्ने अभियानलाई प्रमुखका साथ लैजाने भनाइ राख्नुभयो ।

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले नगर र गाउँपालिकाको विकास गर्न प्रमुख÷अध्यक्षले दूरगामी सोच र योजना निर्माण गर्नुपर्ने सुझाउनुभयो । “नेतृत्वको व्यक्तित्व, इच्छा शक्ति र क्षमताले कुनै पनि समाज, क्षेत्र र राष्ट्र कायापलट हुन सक्छ, त्यसका लागि नेतृत्व सिर्जनशील हुन जरुरी छ”, उहाँले भन्नुभयो । अन्तक्र्रियामा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार कान्तिका सेजुवाल र नेकपा (एमाले)का शान्तिलाल उपस्थित हुनुभएको थिएन ।

दलित महिला निर्विरोध निर्वाचित

चन्दननाथ नगरपालिका–२ का दलित महिला सदस्य विष्णुमाया कामी निर्विरोध निर्वाचित हुुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले दलित सदस्य कामीलाई शुक्रबार सो घोषणा गरेको हो । उहाँलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले खादा र अबीर लगाएर बधाई दिनुभएको थियो । कार्यालयले शुक्रबार नै १७ स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्