Logo

अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ : राजदूत होङ



पोखरा, २३ वैशाख । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत होङले तपाईंहरुले विमानस्थल निर्माणका लागि ४० वर्षसम्म कुर्नुभयो अब धेरै कुर्नु पर्दैन, निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।

प्राकृतिक सम्पदा, तालतलैया र रमणीय हिमशङ्खलाले गर्दा नेपाल चिनियाँ पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको बताउँदैै उहाँले धेरै पर्यटक नेपालमा पठाउन चिनियाँ दूतावासले सघाएको धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एक वर्षअघि शिलान्यास गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउन विशेष पहल गर्न राजदूत होङसँग आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनसँगको व्यापारमा नेपालको व्यापार घाटा बढ्दै गएकाले नेपाल र चीनबीच धेरै नाका खोली व्यापार घाटा कम गर्नेतर्फ राजदूतको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकारहरु दीननाथ बराल, दीपक परियारले पनि विभिन्न जिज्ञासा राख्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्