Logo

कार्यपालिका र न्यायपालिकाबीचको झगडा विषयान्तर गर्न सञ्चार माध्यायमले नसकेको मन्त्री कार्कीको गुनासो



काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको पछिल्लो झगडा विषयान्तर गर्न सञ्चार माध्यायमले नसकेको गुनासो पोखेका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको आमसञ्चार तथा पत्रकारिता जगतले अहिले देखिएको तीन अंगवीचको झगडालाई विषयान्तर गर्न कुनै भूमिका नखेलेको गुनासो पोखेका हुन् ।

उनले भने,‘आज जुन स्थिति छ यसका निम्ति सञ्चार माध्यायम र पत्रकारहरुले जुन भूमिका खेल्नु पर्ने थियो त्यो गर्न सक्नु भएको छैन्, यहा पत्रकार स्वतन्त्र हुनुपर्ने हो तर बिडम्बना पार्टीका टाउका हालेर समाजमा उठेका विषयमा विभक्त भएको देखिन्छ, यो मुलुकको लागि राम्रो कुरा होईन।’

कार्कीले पत्रकारिता जगतका मानिसह सम्मान गर्न लायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिए।
‘गोर्खापत्र’ प्रकाशनसँगै नेपाली पत्रकारिता जगतले क्रमिक रुपमा फड्को मारेको बताउँदै मन्त्री कार्कीले इमान्दार रुपमा गरिने पत्रकारिताले देश विकासका लागि ठूलो सहयोग पुग्ने हुँदा सोहीअनुरुप आफ्नो पेसा अघि बढाउन सम्पूर्ण प्रेस जगतलाई आग्रह गरेका छन् ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अबका दिनमा विकास पत्रकारितामा जोड लिँदै समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशिराज दाहालले पत्रकार स्वयम्ले आफूलाई देश विकासको संवाहकका रुपमा उभ्याउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्का अध्यक्ष डा. महेन्द्र विष्टले परिवर्तनको कार्यसूचीलाई संस्थागत् गर्नका लागि पत्रकारिता जगतले ठूलो भूमिका खेल्नुपर्नेमा जोड दिए ।

गत वर्षदेखि सुरु भएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यस वर्ष ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ कृष्णा ताम्राकार, विश्वबन्धुृ भण्डारी, नारायणप्रसाद शर्मा र मदनमणि दीक्षितलाई र ‘राष्ट्रिय पत्रकारिता सम्मान’ गणेशशेखर शर्मा, शिवबहादुर कार्की, सिराजुद्दिन खान र गजेन्द्रबहादुर बुढाथोकीलाई प्रदान गरिने सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।

प्रस्तुति : धनराज वास्तविक 



प्रतिक्रिया दिनुहोस्