Logo

स्वतन्त्र युवा उम्मेदवार कार्कीको पक्षमा लहर



ललितपुर, २४ वैशाख । जब उनले उम्मेदवारी दिए तब मुख्य दलका उम्मेदवारहरुले आँकलन गरे कि उनले कुनै उम्मेदवार विशेषको केही सय मत काट्नेछन् र जीत हासिल गर्न सकिनेछ ।

तर, लहर यस्तो आउन थाल्यो कि चुनावमा उनै स्वतन्त्र उम्मेदवारको पल्लाभारी देखिदै गयो । ती लोकप्रीय युवा हुन् ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार विवेककुमार कार्की ।

शुक्रबार चुनाव चिन्ह मुठ्ठी कसेको हात लिएर प्रचार प्रसारमा हिंडेका उनको पक्षमा सय भन्दा बढी समर्थक र शुभचिन्तकहरु देखिएका छन् । जसमा समाजमा प्रतिष्ठित क्षेत्रमा काम गरेका देखि युवाहरुको बाहुल्य उत्तिकै छ ।

महालक्ष्मी वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदावर विवेककुमार कार्कीबाहेक नेपाली काँग्रेसका श्याममोहन श्रेष्ठ, नेकपा एमालेका विश्वराज श्रेष्ठ र माओवादी केन्द्रका सानुकान्छा श्रेष्ठ उम्मेदवार छन् । तीनैजना उम्मेवारहरु लुभु बजारभित्र घर भएका हुन् । स्वतन्त्र उम्मेदवार कार्की लुभुबजार बाहिर बिष्णुडोलका स्थायी बासिन्दा हुन् ।

अध्यक्षका प्रत्याशी काँग्रेसमा लामो समय देखि सक्रिय छन् । उनी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठबाट पराजित भएका थिए । विश्वराज श्रेष्ठ स्वास्थ्य क्षेत्रमा सक्रिय छन् ।सानुकान्छा माओवादी कार्यकर्ता हुन् ।

व्यवसायी कार्की सबैभन्दा कान्छा उम्मेदवार हुनु, विगतमा समाजसेवामा सक्रिय हुनु र युवा जोस र जाँगरको हुनुले समेत उनको पक्षमा लहर आएको हो । उनले समग्र वडाको हरेक गल्ली र बाटोबारे जानकारी मात्र नराखी विकास निर्माणमा विशेष योगदान दिएका थिए ।

विगतमा अन्य दलमा लागेकाहरुले समेत यसपटक विकासको २६ बुँदे एजेण्डासहित घरदैलो गरिरहेका कार्कीलाई साथ दिएका छन् । सबै दलका उम्मेदवारहरुले स्वतन्त्र उम्मेदवार कार्कीलाई आफ्नो मुख्य प्रतिष्पर्धी देखेका छन् ।



प्रतिक्रिया दिनुहोस्