Logo

उपेन्द्रले बोलाए पर्सादेखि झापासम्म ११ जिल्लाको शीर्ष बैठक



लहान २४, बैशाख । संघीय समाजवादी फोरम नेपालको आह्वानमा तराई मधेश प्रदेश अन्तर्गत एघार वटा जिल्लाको शीर्ष बैठक आह्वान गरिएको छ ।
बैठकमा पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरुको विशेष सहभागितामा बैठक बसिरहेको छ ।

सिरहाको लहानमा आइतबार एक दिवसीय गोष्ठीको रुपमा केन्द्र र जिल्लाका शीर्ष नेतृत्वलाई प्रशिक्षत गर्ने लक्ष्यसहित आयोजना गरिएको बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवको उपस्थिति छ ।

परिमार्जनसहित संविधान संशोधन गर्ने सर्तमा पहाड केन्द्रीत तीन वटा प्रदेशमा उम्मेदबारी दिएर पहिलो चरणको चुनावमा होमिएको फोरम नेपालले मधेशको मुटु मानिने लहानमा आयोजना गरेको शीर्ष बैठकलाई अत्यन्तै महत्व र चासोका साथ हेरिएको छ ।

संविधान संशोधन नभएसम्म चुनावमा नजाने प्रतिबद्धता जाहेर गरेको फोरम नेपालले संशोधनलाई गम्भीर ढंगले लिई सरकारले संशोधन प्रक्रिया अगाडि बढाएपछि पहाड केन्द्रीत प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको चुनावमा उम्मेदबारी दिएको छ ।

‘पार्टीले पहाडमा उम्मेदबारी दिएपछि केही अवसरवादी विरोध तत्वले हामीलाई कमजोर पार्न जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन् । कसैले भ्रम अफवाह फैलाउँदैमा केही फरक पर्दैन । त्यो भ्रम चीरेर जनतालाई यथार्थ बुझाउन र संविधान संशोधन नभए आगामी आन्दोलनको रणनीति बनाउन बैठक बोलाइएको छ’– लहान बैठकमा सहभागी केन्द्रीय कोषाध्यक्ष विजय यादवले जानकारी दिए ।

पछिल्लोसमय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको उनले बताए ।

गोष्ठीमा अध्यक्ष यादवसहित अन्य शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । काठमाडौंमा रहेका पार्टी अध्यक्ष यादव आइतबार बिहानै लहान प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्