Logo

यस्तो छ काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्धवारहरुको जित्ने दाबी



म नसक्ने कुरा बोल्दिन्, जे बोल्छु त्यो पूरा गर्छु : जोशी 

काठमाडौं, २४ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिका मेयरका उम्मेद्धवारहरुले काठमाडौँलाई देशकै नमुना सहर बनाउने प्रतिबद्धता र आफूले जित्ने आधार र दाबी प्रस्तुत गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार राजुराज जोशीले नेपाली काँग्रेस पार्टी नै आफ्नो जित्ने प्रमुख आधार भएको स्पष्ट पारे ।

उनले भने,‘मेरो जित्ने प्रमुख आधार नै मेरो पार्टी हो, काँग्रेसले यो मुलुकको परिवर्तनमा अगुवाई गरेको छ, राणा शासन कसको कारणले गयो ? पञ्चायत गयो, ०४८ सालमा किशुनजीको अगुवाईमा संविधान जारी भयो, त्यसपछि ०६२÷६३ मा जनआन्दोलन पनि काँग्रेसकै कारण सफल भयो, राजतन्त्र समाप्त भयो, म गौरवशाली ईतिहाँस बोकेको पार्टीबाट उम्मेद्धवार छु, मेरो जित्ने आधार नै यही हो नि ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा जोशीले आफूले लाखौं भोट ल्याएर जित्ने दाबी समेत गरे । उनले थपे,‘हामीसँग यो क्षमता छ, तागत छ ।’

जोशीले काठमाडौं उपत्यकाका भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे । उनले भने, “संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” उनले महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा मैत्री पार्क निर्माण गर्ने योजना सुनाए ।

जोशीले भने,‘सबैभन्दा पहिले म काठमाडौंलाई धुलोरहित बनाउँछु, छिटो–छिटो म सडक प्याच अप गर्ने काम गर्छु ।’ उनले विपी, गणेशमान, किशुनजी, गिरिजाप्रसाद र सुशिल कोईरालाजस्ता वीर पुरुषहरु रहेको पार्टीबाट दिक्षित र शिक्षित रहेकोलेपनि आफूले गर्न सक्ने काममात्रै बोल्ने स्पष्ट पारे । उनले भने,‘हामी नचाहिने कुरा बोल्दैनौं ।’

त्यस्तै उनले विद्यार्थीहरु नभएका स्कूलहरुलाई आगामी ५ वर्षभित्रमा एकीकृत गरेर गुणस्तरीय र शतप्रतिशत नतिजा दिने बनाउने समेत योजना सुनाए । त्यस्तै ५ वर्षभित्र काठमाडौंमा निःशुल्क ईन्टरनेट उपलब्ध गराउने समेत जोशीको योजना रहेको छ । उनले बाग्मती र विष्णुमतिलाई सफा राख्नेपनि आफूसँग योजना रहेको बताए । उनले थपे,‘नदीनालाहरु हरियाली राख्न सकिए काठमाडौंको सौन्दर्यता हराभर हुनेछ, मसँग स्पष्ट भिजन छ।’

त्यस्तै उनले आफू निर्वाचित भए काठमाडौंबासीहरुलाई मेट्रो उपहार दिने सुनाए । काष्ठमण्डप लगायत प्राचिन सम्पदाहरुको पूर्ननिर्माणको लागि पनि काम गर्ने उनको भनाई थियो ।

उनले काठमाडौंमा काँग्रेस ५० हजार भोटले अघि रहेको समेत दाबी गरे । त्यस्तै उनले वर्तमान सरकारमा काँग्रेसबाट मन्त्री बनेका नविन्द्रराज जोशी र गगन थापाको कामबाट जनताहरु अत्यन्तै प्रभावित भएकोले पनि आफूलाई चुनाव जित्न सजिलो हुने आधार प्रस्तुत गरे ।

 



प्रतिक्रिया दिनुहोस्