Logo

‘आफ्नो उन्नति, आफैँ गरौँ’ नारासहित राप्रपाको घरदैलो सुरु



काठमाडौँ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ ।

पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो नारा लिएर जनतालाई पार्टीका कार्यक्रमका बारे बुझाइने छ ।

काठमाडौँँ उपत्यकाका अधिकांश स्थानमा घरदैलो भइरहेको छ, सोही कार्यक्रममार्फत पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्तशासन प्रणालीका बारेमा जनतालाई आश्वस्त बनाउन नेता तथा कार्यकर्ता लागिपरेका छन् । यही वैशाख २७ गते सो घरदैलो कार्यक्रम समापन गरिने छ ।

पार्टीले अवलम्बन गरेको आर्थिक उदारवादलाई वैचारिक आधार स्तम्भका रुपमा अवलम्बन गरी स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सो नारा तय गरिएको हो ।

मुलुकमा प्रचलनमा रहेका विभिन्न धर्म, जाति, संस्कृति, भाषा र वेशभूषालाई स्थानीय तहमा संरक्षण गर्ने नीति लिइएको काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय धर्म–संस्कृतिलाई देशभर र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनक गाउँ÷नगरपालिकामा हिन्दू र बौद्ध शैलीका मन्दिर, सत्सङ्ग भवन र धर्मशालाको निर्माण गरी स्थानीय साझेदारलाई सञ्चालनको जिम्मेवारी दिइनेछ । यसबाट उठ्ने भेटी स्थानीय शिक्षा र स्वास्थ्य क्षेत्र तथा निःसहायहरुको कल्याणमा खर्च गरिने राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीले जानकारी दिनुभयो ।

पार्टीले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर (स्मार्ट सिटी) को रुपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने पार्टीको लक्ष्य राखेको छ ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिको क्रममा निर्वाचन महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो हुने स्थानीय तह निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचार समितिका संयोजक किरण गिरीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्