Logo

इम्यानुअल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित



काठमाडौं, बैशाख २५ । युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  दोस्रो चरणको निर्वाचनमा उदारवादी नेता म्याक्रोनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी मतअन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

म्याक्रोनले ६६ दशमलव शून्य ६ प्रतिशत मत ल्याए भने पेनले ३३ दशमलव ९४ प्रतिशत मत प्राप्त गरे । ३९ वर्षीय म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् ।

फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरु भएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टीभन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बनेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताए । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उनले बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन गर्दै म्याक्रोनले देशभित्रको भेदभाव अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले युरोपेली संघ र फ्रान्सेली जनताबीच सम्पर्क पुनस्र्थापित गर्ने बताए । उनले चरमपन्थी र जलवायु परिवर्तनको खतरासँग पनि जुध्ने उद्घोष पनि गरे । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्