Logo

सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता



काठमाडौँ, २५ वैशाख । सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटवार्तामा दुईपक्षीय चासो र हितका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो ।

नेपालको व्यवस्थापिका–संसद्मा भइरहेका काम र समसामयिक अवस्थावारे आइपियुका अध्यक्षले सभामुख घर्तीसँग चासो व्यक्त गर्नुभएको उहाँका सञ्चारविज्ञ बबिन शर्माले जानकारी दिनुभयो ।

विश्वका केही देशमा संसद्लाई असजिलो पार्नेगरी काम भइरहेको उल्लेख गर्दै ती देशमा छिट्टै आइपियुले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताउनुभयो ।

संसद्लाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा आइपियु सधैँ संसद्को पक्षमा उभिने चौधरीले बताउनुभयो ।

सभामुख ओनसरी घर्तीले नेपालको समसामयिक अवस्थाबारे जानकारी गराउँदै केही दिनभित्रै स्थानीय तहको चुनाव हुन गइरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

अघिल्लो आइपियुको बैठकका क्रममा आफूले बङ्गलादेशको चटगाउँ बन्दरगाह भ्रमण गरेको स्मरण गर्दै सभामुख घर्तीले नेपाल र बङ्गलादेश सरकारले आवश्यक थप समझदारी बनाएर सो बन्दरगाह नेपालले छिट्टै प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले बङ्गलादेश र नेपालको संसद् र सांसदबीचको सम्बन्ध अझ बलियो र बाक्लो बनाउनुपर्ने धारणा राख्दै बङ्गलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्