Logo

अबको बजेट ऐतिहासिक हुन्छ : गभर्नर डा नेपाल



काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ ।

राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।”

गभर्नर डा नेपालले नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै चालु आवदेखि मुलुकको अर्थतन्त्रमा सुधार आएको विचार व्यक्त गर्नुभयो । उहाँले सरकारको रु दुई खर्ब ५५ अर्बभन्दा बढी रकम बचत रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री एवम् निर्यात प्रवद्र्धन गर्ने खालको हुनुपर्नेमा जोड दिए ।

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जनताको जीवनस्तर सुधार गर्ने, उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र कर विस्तार गर्ने नीतिलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिनुभयो ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री केशव बडालले निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई सँगै लैजाने संवैधानिक व्यवस्था भएकाले त्यसको मर्मलाई ध्यान दिएर बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

उद्योगी मोतीलाल दुगढले जलविद्युत्मा गरिने लगानीको ब्याजदरमा परिवर्तन गर्न नहुने, बैंक तथा वित्तीय संस्थाको लगानी बढाउनुपर्नेजस्ता विषयलाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

चेम्बरका महासचिव कमलेस अग्रवालले लगानीमैत्री र करमैत्री बजेटले नै मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले मुलुकका विभिन्न आठ स्थानमा गरेको छलफलपछि पूर्वबजेट प्रतिवेदन सरकारलाई बुझाउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्