Logo

नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद हुन्छः ऊर्जामन्त्री



सल्यान, २६ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ ।

गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भन्नुभयो । उहाँले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिनुभयो । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भन्नुभयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गर्नुभयो । “स्थानीय तहको चुनावमा सबै संयमित बनौँ कसैैले पनि प्रतिशोध र तडकभडक नगरौंँ, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरौँ, मन्त्री शर्माले भन्नुभयो ।

वडा सदस्य उम्मेदवारको मृत्यु

कुमाख मालिका गाउँपालिका– १ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएका दलबहादुर राणाको आज मृत्यु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा लडेर घाइते हनुभएका राणाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्