Logo

सभामुख घर्तीमगर नै रोईन जब धमलाले दश वर्षअघिको आफ्नो घट्ना सम्झिए…



काठमाडौं, २६ बैशाख । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचन अपरिहार्य रहेको बताएकी छिन् ।

मंगलबार आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् । उनलाई उपचारको लागि बैशाख ७ गते ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।  शाहीलाई मंगलबार एक समारोहकाबीच सभामुख घर्तीले शाहीलाई विदाई गर्दै यस्तो बताएकी हुन् ।

सभामुख घर्तीले राउटे समुदायको सहज जीवनको लागि आफ्नो ठाउँबाट पहल गर्ने बताइन् । शाहीलाई उपचार गरेर नयाँ जीवन दिलाएको भन्दै चिकित्सकहरुलाई उनले धन्यवाद व्यक्ति गरिन् ।

उनले जंगलमा रुख काट्न नपाउने र पहिले जस्तो सिकार पनि नपाइने हुँदा सरकारलाई भत्ता बढाइदिन आग्रह गरे । घाईते शाही बुधबार सुर्खेत जाने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी गराईन।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफुँ पनी आगोमा परको बताउँदै शाहीको स्वास्थ्य लाभको कामना गरे ।

धमलाले राउटेहरुलाई मानव जीवनको सभ्यता सिकाउनको लागि पनि आफूले विगतदेखि नै काम गर्दै आएको स्मरण गराए । त्यस्तै उनले रिपोर्टर्स क्लब नेपालले विभिन्न जिल्लामा रहेका शाखाहरुमार्फत पनि राउटेहरुको जीवनस्तर उकास्न र उनीहरुलाई मानवसभ्यता सिकाउनको लागि विगत धेरै वर्षअघिदेखि नै काम गर्दै आएको बताए ।

उनले घाईते शाहीलाई देखाउँदै भने,‘कपील शाहीलाई सहयोग गरेर यहाँसम्म ल्याउने सबै मित्रहरुप्रति म निकै आभारी छु, खासगरी दिपेश पुनजी, उहाँबाट म निकै प्रभावित भएको छु, उहाँको समाजसेवामा निकै राम्रो दख्खल छ।’ पत्रकार धमलाले आफ्नो मन्तव्य दिँदै गर्दा एक्कासी आजभन्दा करिब दश वर्ष अघिको नेपालगञ्जको घट्ना सम्झिए ।

उनले भावुक हुँदै भने,‘म पनि आगलागीको मुखबाट बचेको हुँ, ०६४ सालको संविधानसभाको चुनावमा रिर्पोटिङ्को लागि नेपालगन्ज पुग्दा म बसेको सिद्धार्थ कटेजमा आगलागी भएको थियो, म १७ घण्टा बेहोस भएको थिएँ, त्यसैले म पनि मृत्युको मुखबाट बचेको मान्छे हुँ, आज तपाईहरुको माँझ उभिन पाएको छु, यो मेरो दोस्रो जीवन हो।’ धमलाले यस्तो भनिरहँदा कार्यक्रम सभाहलमा उपस्थित् सभामुख घर्तीमगर, चिकित्सक र दर्शकहरु रोएका थिए ।

त्यस्तै कार्यक्रममा उपचारपछि घर फर्किने क्रममा रहेका शाहीले पनि भावुक हुँदै सरकारले अहिले राउटेहरुलाई दिँदै आएको २ हजार मासिक राहतस्वरुपको रकम बढाएर ५ हजार पु्र्याउनको लागि विभिन्न सञ्चारमाध्यममा बहस चलाएर पहल गरिदिन पत्रकार ऋषि धमलासँग आग्रह गरे । उनले भने,‘मेरो ऋषि सरसँग एउटा अनुरोध छ, हामीलाई अहिले सरकारले २ हजार दिँदै आएको छ, अब ५ हजार पुर्याउनको लागि सहयोग गरिदिनुपर्यो।’ त्यस्तै उनले आफूलाई मृत्युको मुखबाट जोगाउनको लागि सहयोग गर्ने पुन र उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए ।

शाहीले आफुले नयाँ जीवन पाएको बताए । ‘मैले नयाँ जीवन पाएको छु । सायद जंगलमै भएको भए बाँच्ने थिइन होला ।’ उनले जंगलमा रुख काट्न नपाउने र पहिले जस्तो सिकार पनि नपाइने हुँदा सरकारलाई भत्ता बढाइदिन आग्रह गरे । सरकारले राउटे समुदायका व्याक्तिलाई प्रत्येक महिना २ हजार समाजिक सुरक्षा भत्ता दिँदै आएको छ। उनले १२ वर्षे पूजा सकेर फेरी उपचार गर्न आउने बताए ।

Photo: Dinesh Gole/Nagarik/Republica

अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि उनलाई काठमाडौ ल्याइएको थियो ।

उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुनको पहलमा उपचारको लागि काठमाडौ ल्याइएको थियो । मानवीयताका नाताले आफु राउटे बस्तीमा पुगेर शाहीलाई उपचारको लागि ल्याएको पुनले बताए। आफ्नो तेस्रो प्रयासमा मात्र राउटे समुदायले शाहीलाई उपचारको लागि अस्पताल पठाउन राजी भएको उनको भनाई थियो ।

राउटे समुदाय झारफूक र जडिबुटीमा विश्वास राख्ने गर्छन् । उनीहरु अस्पताल जाउन मान्दैनन्। अस्पतालमा उपचार भएका शाही राउटे समुदायका दोस्रो व्याक्ति हुन् । कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन् ।

समयमै उपचार नपाए पछि घाउ बल्झिए कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए । शाहीको उपचार पूर्णरुपमा नसकिए पनि १२ बर्षे पूजामा राउटे समुदायका सबै पुरुष उपस्थीत हुनै पर्ने सांस्कृतिक बाध्यताका कारण उनलाई डिस्चार्ज गरिएको डा.पीयुस दाहालले जनाए । ‘उनी धेरै स्वस्थ्य भएका छन्, दाहालले भने, ‘फिजियोथेरापी अझै गर्नुपर्ने हुन्छ। उनको थप उपचार क्षेत्रीय अस्पताल सुर्खेतमा हुने छ।’

शाहीको उपचारको क्रममा दुई सल्यक्रिया गरिएको डा.अपार लामिछानेले बताएका । उनका अनुसार शाहीको स्कीन ग्राफ्ट र कन्ट्याक्टर गरिएको थियो । कार्यक्रममा राउटे उत्थान प्रतिष्ठान नेपालद्धारा प्रकाशन गरिएको एक पुस्तक समेत विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्