Logo

स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा



काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ ।

महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा आज साँझसम्म करिब एक लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ ।

उक्त स्थानमा काठमाडौँ तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रङ्गरोङ्गन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ ।

महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयम्सेवकका रुपमा खटिनुभएको छ । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।

नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले आजको दिन पारी सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले आजको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा आजका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने आज साँझ दीपावली गर्ने कार्यक्रम छ । रासस
––––––



प्रतिक्रिया दिनुहोस्