Logo

काँग्रेस र माओवादी घुँडा टेक्ने पार्टी हुन्, एमाले पैतलाले टेकेर उभिएको छ : ओली



काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य ठूला पार्टीहरुको विदेशीसामू घुँडा टेक्दा सबै खुईलिसकेको आरोप लगाएका छन् ।

बुधबार नेकपा एमालेको बिषेश शैलीको प्रचार भेलालाई संबोधन गर्दे एमाले अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘तपाईहरुले देखिसक्नुभएको छ, अरु पार्टीहरुका घुँडा घुइलिएका छन्, उनीहरु खुट्टाले हिँड्नपनि जान्दैनन्, पैताला टेकेर हिँड्ने पार्टी भनेको एमाले हो ।’ उनले दोहोर्याएर भने,‘एमाले यस्तो पार्टी हो, जो पैतालाले टेकेर उभिएको छ।’

सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले कडा प्रश्न गरे,‘एमालेलाई भोट किन नदिने ?’ उनले फेसबुक, युट्यव लगायतका सामाजिक सञ्जाल, अनलाईन, एफ.एम, टिभीमा लाईभ बहसमा आउनको लागि पनि काँग्रेस र माओवादी केन्द्रलाई चूनौति दिए । उनले भने,‘नेकपा एमाले विहान, दिउँसो, साँझ र बेलुका पनि बहस गर्न तयार छ।’ उनले सँगै रहेका एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई देखाउँदै भने,‘हाम्रो योगेशजी सँधै तयार हुनुहुन्छ।’

ओलीले कानुन दिवसका अवसरमा हिजाे प्रधाननयायाधीशले आयोजना गरेको चियापान कार्यक्रमलाई बहिस्कार गरेर कानुनी राज्यको उपहास गरेको आरोप लगाए । ओलीले भने ‘भुलचुकमा उच्च ओहदामा पुगेका उग्रपन्थीहरुले हिजो जुन व्यवहार देखाए, त्यो कानुनीराजको उपहास नै हो, उनीहरु कानुनी राज्य मान्दैनन भन्ने बुझिन्छ।’

ओलीले सभामुख ओनसरी घर्तीको भुमिकामाथि समेत प्रश्न गरे । उनले भने ‘ सभामुखले के गर्न खोजेको हो ?बुझेका छैनौ । एकजना संसद उठ्दा संसद स्थगित गर्ने सभामुख संसदमा सिंगो एमाले उठ्दा थाहा पाउँदिनन् । बरु, उल्टो किताव पढ्न थाल्छिन यो हामीले बुझेका छैनौ ।’ सभामुख घर्तीको भुमिका शंकास्पद रहेको अध्यक्ष ओलीको भनाई थियो । ‘ सभामुखको मर्यादा के हो भन्ने कुरा बुझ्नुपर्यो । सत्ताको दुरुपयोग गरेर, बलमिच्चयाए सभामुखले हिँड्न मिल्दैन ।’

सर्वोच्च अदालतलाई बहिस्कार गर्नु कुन मर्यादाभित्र पर्छ भन्दै अध्यक्ष ओलीले प्रश्न गरे ।

ओलीले दोलखा घटनामा सरकारले काठमाडौबाट गुण्डा लगेर घटना घटाएको आरोप लगाए । उनले भने, ‘खाना खाइरहेका एमाले कार्यकर्तालाई दोलखामा आक्रमण गरेर हत्या गरियो । यतिसम्म की अपराधिहरु समातिएपनि माओवादी नेताको निर्देशनमा छाडिएको छ, यसरी सत्ताको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । ’

उनले भने ‘ देश यो अवस्थामा छ तर प्रधानमन्त्री आफ्नै सन्तानलाई कसरी जिताउने भन्नेमै चिन्तित हुनुहुन्छ ।’ ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड आज एउटै डुङगामा नारिएर चितवन जान लागेको भन्दै प्रचण्ड र देउवा मिलेपनि कांग्रेस कार्यकर्ताले विगतमा माओवादीले सताएको नर्विसिएको बताए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्