Logo

खसेको मतबाट ८० प्रतिशत मत प्राप्त गर्छु : भरतपुर मेयरकी उम्मेद्धवार रेणु दाहाल



भरतपुर, २७ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनस्थित् भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्धवारहरुले आ–आफ्नो जीतको सुनिश्चितता भएको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा प्रमुख दलका मेयर तथा उपेयरका उम्मेद्धवारहरुले आफ्नो जितको दाबी प्रस्तुत गरेका हुन् ।

शाखाका अध्यक्ष राजु चौधरीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै काँग्रेस–माओवादी केन्द्रकी मेयरकी साझा उम्मेद्धवार रेणु दाहालले परिवर्तनकारी पार्टीहरुको तर्फबाट आफू साझा उम्मेद्धवार भएकोले आफ्नो जित सुनिश्चित भएको दाबी प्रस्तुत गरिन् ।

उनले भनिन्,‘म काँग्रेस र माओवादी केन्द्रकी साझा उम्मेद्धवार हुँ, १२ बुँदे समझदारीदेखि लिएर विस्तृत शान्ति सम्झौताका सहयात्री दलबाट म आज साझा उम्मेद्धवार बनेको छु, मेरो पहिलो जित्ने आधार नै यही हो ।’ त्यस्तै उनले काँग्रेस र माओवादीको सहकार्य र नेतृत्वदायी भूमिकाबाट नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, परिवर्तनका एजेण्डाहरु संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक स्थापित् भएको समेत दाबी गरिन् ।

उनले वर्तमान सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सहयात्रा, सहकार्य र एकताबाट नै संविधान जारी भएको समेत उल्लेख गरिन् । दाहालले थपिन्,‘संविधानले कसले ल्यायो ? यो कुरा देश र दुनियाँलाई थाहा छ।’ दाहालले संविधान जारी गर्दाका सहयात्री दलहरु अहिले संविधान कार्यान्वयनमा पनि उतिकै सहकार्य गरेर जानुको विकल्प नभएकोले काँग्रेस र माओवादी केन्द्रवीच गठबन्धन बनेको र यो मुलुक समृद्ध बनाउनको लागि पनि कायम हुने विश्वास व्यक्त गरिन् । दाहालले माओवादी र काँग्रेस नेपालका परिवर्तनकारी शक्ति भएको समेत दाबी गरिन् ।

उनले परिवर्तनको हकदार काँग्रेस र माओवादी केन्द्र भएकोले पनि मुलुकको नेतृत्व पनि यी दुई दलहरुले नै गर्नुपर्ने बताईन । उनले भनिन्,‘हामीसँग नयाँ नेपाल छ, यो मुलुकलाई अघि बढाउन चाहन्छौं, आर्थिक समृद्ध बनाउन चाहन्छौं, नयाँ नेपालको निर्माणको लागि हामीसँग स्पष्ट खाका छन् ।’ उनले काँग्रेसले ००७ सालमा परिवर्तनको लागि राणाहरुको लागि लडेको र आफ्नो पार्टीलेपनि राजतन्त्रको विरुद्धमा सशक्त युद्ध नै गरेको स्मरण गराईन् ।

दाहालले मुलुकका चार महानगरपालिकाहरुमध्ये भरतपुर महानगरपालिकामा आफ्नो उम्मेद्धवारी पर्नुलाई मुलुकको लागि खुशीको खबर भएको सुनाईन् । उनले चार महानगरपालिकाको मेयरमा आफू मात्रै महिला उम्मेद्धवार भएकोले जीत सुनिश्चित भएको स्पष्ट पारिन् । उनले थपिन्,‘म महिला उम्मेद्धवार हुँ, तर मेरो जित सुनिश्चित भएको छ, चूनावी मैदानमा म उत्रिएको छु, महिलालाई कुनैपनि मानेमा कमजोर न आँँक्नको लागि म सबैसँग आग्रह गर्दछु।’ उनले महिलालाई कदापि कमजोर नठान्नको लागि चूनौति समेत दिईन् ।

दाहालले जनताको लागि मर्न तयार भएर जनयुद्धमा होमिएको व्यक्ति भएकोले आफू मेयरमा विजयी भए जनताको जीवनस्तर उकास्न, भरतपुर महानगरपालिकालाई जीवन्त तुल्याउन, स्मार्ट सिटी बनाउन, भौतिक संरचनाले भरिपूर्ण बनाउन, अध्याधुनिक शहर निर्माण गर्ने प्रतिबद्धता जनाईन् । उनले भनिन्,‘हामी हावाबाट विजुली निकाल्ने हावादारी गफ गर्दैनौं, सक्ने काम गर्छौं।’

त्यस्तै उनले आफूपनि युवा नेतृ भएकोले सम्पूर्ण युवायुवतीहरुप्रति आफू निकै उत्तरदायी भएको समते बताईन् । उनले जसको नीति उसको नेतृत्व भनेंझैं भरतपुरलाई आगामी दिनमा सबल, आत्मनिर्भर, विकसित, सुन्दर बनाउनको लागि आफूसँग स्पष्ट खाका भएको समेत विश्वास दिलाईन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि व्यंग्य हान्दै उनले भनिन्,‘गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर अमेरिका पुग्नु हो भनेर प्रतिक्रिया दिने साथीहरुपनि अहिलेसम्म छन्, तर गणतन्त्र त आयो त, अहिले त्यही गणतान्त्रिक अभ्यास अनुसार मुलुक संघीयतामा गएको छ, चुनाव हुँदैछ, हामी चुनावी मैदानमा छौं, उहाँहरुपनि यो व्यवस्थालाई स्विकार गरेर आए त, अनि यो कसरी संभव भयो त ? हामीले १० वर्ष जनयुद्ध नलडेको भए संभव थियो त?’

उनले थपिन्,‘अहिले ती एजेण्डाहरु, मुद्धाहरु व्यवहारत कार्यान्वयन गर्ने अवस्थामा हामी छौं । यस मानेमा पनि हामी उत्साहीत छौं कि हाम्रा एजेण्डाहरु स्थापित हुदैछन् र जित्छु भन्ने मलाई विश्वास छ ।’ उनले आफूले खसेको मतबाट ८० प्रतिशत मत प्राप्त गर्ने समेत दाबी गरिन् । उनले आफू विजयी भए भरतपुरमा बाहिरी र भित्री चक्रपथ बनाउने, भरतपुरलाई सकेसम्म नेपालको राजधानी बनाउने नभए दोस्रो राजधानीको रुपमा विकास गर्ने सार्जजनिक प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबले कसैको पक्षमा नबोल्ने बताउँदै यो पटकको निर्वाचनमा विकास र समृद्धिको लागि काम गर्नेसक्नेलाई मात्रै जनताले मेयर तथा उपमेयर चयन गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘तपाई जनता र उम्मेदवारीले आज प्रण गर्नुपर्छ भरतपुर महानगरपालिकालाई हरियाली बनाउनको लागि लाग्नुपर्छ, यहाँको विकास र समृद्धिको एजेण्डा बोकेर आउनेलाई मात्रै विजयी बनाउनुहोस्, अहिलेको युग भनेको विकास र समृद्धिको युग हो, त्यसैले भाषण गर्नेलाई भन्दापनि काम गर्नेलाई रोजौं, आजको जनताको चेतना धेरै माथि उठेको छ, तपाईहरुले आफ्नो मतलाई सही ठाउँमा सदुपयोग गर्नुहोस्।’

धमलाले नेपालमा झण्डै दुई दशकपछि निर्वाचन हुन लागेकोले यो निर्वाचनलाई सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘रिपोर्टर्स क्लबले लामो समयदेखी निर्वाचनको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ, आजपनि हामी तपाईहरुको माँझमा चुनावी बहस कार्यक्रममा छौं, यसलाई हामी निरन्तरता दिन्छौं।’



प्रतिक्रिया दिनुहोस्