Logo

खर्चिलो र भड्किलो बन्दै निर्वाचन



(कुमार चौलागाई) : सिन्धुपाल्चोक, २७ वैशाख । निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् ।

निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारले व्यापक खर्च गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको सीमा नै तोकेको भए पनि त्यसलाई बेवास्ता गर्दै उनीहरूले दैनिक प्रचारप्रसारका लागि लाखौँ रुपैयाँ खर्च गर्ने गरेका पाइएको छ ।

“कार्यकर्ता परिचालन गर्नैप¥यो, गाडीभाडा, खाजाखाना खर्चलगायतमा दैनिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म त खर्च भइहाल्छ,” नगरप्रमुखका एक उम्मेदवारले भन्नुभयो ।

उम्मेदवारले दैनिक सदरमुकाम चौतारा, बाह्रबिसे, मेलम्ची, जलविरेलगायत ठाउँमा ¥यालीको नाममा लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन् । उनीहरुले प्रत्येक दिन बजार क्षेत्रमा गाडी तथा मोटरसाइकल ¥याली गर्दै आएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा नगरप्रमुखको उम्मेदवारैपिच्छे दैनिक सात वटादेखि १० वटासम्म गाडी प्रयोग गर्ने गरेको पाइएको छ ।

घरदैलो अभियान तीव्र

निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोकका तीन वटा नगरपालिका तथा नौ वटा गाउँपालिकामा निर्वाचनको माहोल तात्दै गएको छ । अहिले निर्वाचनमा भाग लिएका सम्पूर्ण दलका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् ।

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउन लागेकोमा खुसी व्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका २१ वर्षीय सन्तोष कार्कीले भन्नुभयो– “आफ्नालाई होइन राम्रा उम्मेदवारलाई भोट दिन्छु ।”

जिल्लामा विभिन्न दलले उम्मेदवारी दिएपनि मुख्यगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रतिष्पर्धा हुने देखिएको छ । संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र माओवादी केन्द्रले एक एक सिटमा जित हासिल गरेको थियो । बाह्रबिसे नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

दुई पत्रकार उम्मेदवार

स्थानीय तहको निर्वाचनमा जिल्लाबाट दुई जना पत्रकारले समेत उम्मेदवारी दिएका छन् । पत्रकार भक्तध्वज बोहोराले त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष तथा पत्रकार लक्ष्मी पौडेलले सुनकोशी गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । जिल्लामा १४४ वटा मतदान केन्द्र छन् ।

भोट माग्न सामाजिक सञ्जालको प्रयोग

जिल्लाका सबैजसो दलका उम्मेदवारले भोट माग्न सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । आफ्नो चुनावी प्रतिबद्धतासहित उम्मेदवारले फेसबुकमार्फत भोट माग्दै आएका छन् । प्रचार प्रसारमा पोस्टर टाँस्न रोक लगाएका कारण अधिकांश उम्मेदवारले यसका लागि सामाजिक सञ्जालको नै भर परेका छन् ।

मतदाताद्वारा पुनःनिर्माणको माग

भोट माग्न घरदैलोमा पुग्दा अधिकांश मतदाताले उम्मेदवारसँग भूकम्पपछिको पुनःनिर्माणको माग गर्न थालेका छन् । भूकम्पपछि आफूहरूले निकै कष्ट बेहोर्नुपरेकाले त्यसलाई सहज बनाउन मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराउने गरेका छन् ।

नक्सापास, घर निर्माणको मापदण्डलगायत काममा आफूहरूले धेरै सास्ती बेहोर्नुपरेकाले ती सवै काम अब वडा कार्यालयबाटै हुनुपर्ने मतदाताले उम्मेदवारसँग माग गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्