Logo

अन्तिम दिन शीर्ष नेताको यस्तो व्यस्तता, देउवा, दाहाल र ओली भरतपुरमा



काठमाडौं २८ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन्। बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तीन जिल्लाको चुनाव प्रचारमा भाग लिन देउवाले हेलिकोप्टर प्रयोग गर्दै छन्।

एमाले अध्यक्ष ओली चितवनमा

एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। भरतपुर र पोखरा–लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ।

अध्यक्ष ओली पनि पछिल्लो समय सत्तारुढ दलहरूप्रति आक्रामक बन्दै गएका छन्। बुधबार मात्रै उनले काठमाडौंमा आयोजित कार्यक्रममा एमालेलाई मत नहाल्नुपर्ने कारणबारे सार्वजनिक बहसमा आउन सबैलाई चुनौती दिएका छन्  चितवन र काठमाडौंमा प्रचण्ड प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार कांग्रेस र माओवादीको संयुक्त आयोजनामा चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्दै छन्। भरतपुर महानगरबाट प्रचण्डपुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन्। बिहीबारै उनी काठमाडौंका दुई चुनावी सभामा पनि सहभागी हुने कार्यक्रम छ।

दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले बताए। रामचन्द्र पौडेल

नेता रामचन्द्र पौडेलले पनि बिहीबार लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन्। केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा खटिएका छन्।

माधव नेपाल

नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन्। त्यस्तै झलनाथ खनालले काठमाडौंमा, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन्। नारायणकाजी श्रेष्ठ नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखामा खटिएका छन्।

त्यस्तै, नेता बादल भरतपुर, देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौं महानगरपालिकाको निर्वाचनमा पार्टीको कमान्ड सम्हालेका छन्।  भट्टराई र कमल थापा पनि व्यस्त नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच दिन गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन्। बिहीबार उनले उपत्यकाका चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, स्थानीय चुनाव आफ्नो पक्षमा पार्न राप्रपा अध्यक्ष कमल थापा पनि जिल्ला दौडाहामा छन्। तीन दिनदेखि उनी गृहजिल्ला मकवानपुरमा खटिएका छन्।



प्रतिक्रिया दिनुहोस्