Logo

चुनावको मुखमा विकासविद् कँडेलद्धारा बाबुराम भट्टराईको नयाँ शक्तिलाई समर्थन



काठमाडौं, २८ बैशाख । विकासविद् दीपेन्द्र कँडेलले यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाको विकास, समृद्धि र महानगरवासीहरुको उज्ज्वल भविष्य बनाउनेबारे तयार पारेको ६० बुँदे अवधारणापत्र आज सार्वजनिक गरिएको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रमको आयोजना गरेर क्लबका सभापति ऋषि धमला र उनले संयुक्त रुपमा उक्त ‘यदि म काठमाडौं महानगरको मेयर भईदिएको भए…’ नामक उक्त ६० बुँदे अवधारणापत्र सार्वजनिक गरिएको हो । कँडेलले काठमाडौंलाई कसरी सुन्दर, विकास र समृद्ध बनाउन सकिन्छ भनेर आफ्नो लामो अनुशन्धान र अनुभवहरुलाई समेटेर गुरुयोजनाहरु उक्त अवधारणापत्रमा समावेश गरेका छन् ।

निर्वाचन आउन जम्मा २ दिनमात्रै बाँकी रहेको अवस्थामा तपाईले किन यो अवधारणा सार्वजनिक गर्नुभयो भनेर एक पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘निर्वाचन आउन जम्मा दुई दिन बाँकी छ, तर काठमाडौंका मेयरका उम्मेद्धवारहरुलाई मैले तयार पारेको अवधारणापत्र हातहातमा पुर्याउने उद्देश्य लिएको छु, यो उहाँहरुको लागि पनि महत्वपूर्ण दस्तावेज हो भन्ने मेरो विश्वास छ।’

यद्धपी उनले हालका मेयरका उम्मेद्धवाहरुले काठमाडौंलाई स्मार्ट सिटी बनाउँछौं भनेर खोक्रो र अवैज्ञानिक तथा असंभव सपना बाँडेको आरोप लगाए । उनले भने,‘हरेक सचेत नागरिकले चुप लागेर बस्नु भनेको आफू पनि गल्तीको भुमरीमा फस्नु हो, त्यसैले मैले मेरो एकेडेमिक करियरमा रिसर्च गरेका कुराहरु, सिप, क्षमता, तथा दक्षता र अन्र्तराष्ट्रिय अनुभवहरुलाई समावेश गरेर यो अवधारणापत्र सार्वजनिक गरेको छु, त्यो पनि तपाई सम्पूर्ण मिडियाका साथीहरुसामू, मैले हुने र गर्न सकिने कुरामात्रै गरेको छु।’

कँडेलले अहिलेका मेयरका उम्मेद्धवारहरुले सस्तो लोकप्रियता हाँसिल गर्नको लागि जनताहरुसामू भोटका लागि अपत्यारिला र असंभव सपना बाँडेकोमा घोर आपत्ति जनाए । उनले मेयरका उम्मेद्धवारहरुले अघि सारेका प्रतिबद्धताहरु आफूले अक्षरंश अध्ययन गरेको र त्यसमा ९० प्रतिशत खोक्रा नाराहरुमात्रै राखेर पूरानै खोक्रो प्रतिबद्धता पाएको ठोकुवा समेत गरे ।

त्यस्तै कँडेलले आफूले विगत एक महिनादेखि स्थानीय तहको निर्वाचनको माहोल, चुनावी प्रक्रिया, दलहरुका प्रतिबद्धता तथा अठोट र सोही अठोट बमोजिम नीति तथा कार्यक्रम लागु गर्न सक्ने व्यक्तित्वहरुको बारेमा नजिकबाट नियाँलिरहेको अनुभव सुनाउँदै यो वीचमा उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले उठाएका मेयर तथा उपमेयरका उम्मेद्धवारहरुमा पोटेन्सियालिटी पाएको जनाए । त्यसमा पनि गोरखाजस्तो ऐतिहाँसिक महत्व बोकेको गोरखा नगरपालिकाका मेयरका उम्मेद्धवार ज्ञानेन्द्र कुमाललाई आफूले चुनावपनि सघाउने र मेयरमा विजयी भएपछिपनि कम्तिमा ५ वर्षको लागि पब्लिक सेक्टर ईनोभेसनमा सल्लाहकारको रुपमा सघाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थानीय तहको निर्वाचन हुनु भनेको लोकतन्त्र, स्थायित्व र विकाससँग प्रत्यक्ष जाडिएकोले यो निर्वाचनमा मेयर तथा उपमेयरका उम्मेद्धवारहरुले विकासका कुरा भन्दापनि बढि राजनीतिका चर्को नाराहरु दिएको पाईएको गुनासो पोखे । उनले भने,‘अब पनि राजनीतिक भाषण, चर्को कुरा गरेर देश बन्छ त ? कदापि बन्दैन, २१ औं शताब्दी भनेको भनेको एशियाको युग हो, अब विकासका बारी आउनुपर्ने हो, तर यहाँका दलहरुले त्यसलाई अहिलेसम्म अवलबम्बन गरेको मैले पाईँन् ।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले कँडेलले अघि सारेका गुरुयोजनाहरु अत्यन्तै वैज्ञानिक र वस्तुवादी भएकोले यसलाई प्रमुख दलका शीर्ष नेताहरुले समेत आत्मसात गर्नुपर्ने बताए ।

कँडेलले अघि सारेका अवधारणाहरु तल हेर्नुहोस : 



प्रतिक्रिया दिनुहोस्