Logo

मौन अवधिअघिको प्रचार : पानीले रोकिएन



(प्रकाश सिलवाल): काठमाडौँ, २८ वैशाख । मनोनयनपछि प्रचारका लागि पर्याप्त समय नभएका कारण स्थानीय निर्वाचनमा होमिएका दलहरुलाई मौन अवधिअघिको प्रचारको अन्तिम दिनसम मतदाताकहाँ पुग्न निकै चटारो प¥यो ।

आज अपराह्न केहीबेर पानी परेका कारण निर्वाचनको प्रचारमा अवरोध उत्पन्न भए पनि दलहरुले आफ्नो अभियानलाई निरन्तरता दिए । वर्षाका कारण काठमाडौँका पुतलीसडक, जमल, बागबजार आदि क्षेत्रमा पानी जमेर बाटो हिँड्नसमेत कठिन परेका बेला पार्टीका प्रचारकहरु मतदाताकहाँ पुग्न भरमग्दुर कोसिस गरिरहेका देखिन्थे ।

स्थानीय तहको निर्वाचनको मौन अवधिअघि दलहरुले तय गरेका प्रचार कार्यक्रम र पदयात्रा पूर्ववत् रुपमा सम्पन्न भएका छन् । सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कका आधारमा आज राति १२ बजेसम्म प्रचारको क्रम चल्नेछ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । आजै राति १२ बजेखि निर्वाचन आचारसंहिताबमोजिम मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारमा रोक लगाइएको छ ।

नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवार राजुराज जोशीका प्रचारकहरु अहिले साँझसम्म बागबजारस्थित होटेल हार्दिकमा प्रचार कार्य गरिरहेका छन् भने नेकपा (एमाले) बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यका प्रचारक जमलस्थित होटेल यल्लो प्यागोडामा परिचालन कार्यालय खोली प्रचार गरिरहेका छन् ।

उम्मेदवारका समर्थक र वडाध्यक्ष तथा सदस्यका उम्मेदवार पनि टेलिफोन सम्पर्क र अन्य प्रचारका साधन प्रयोगमा साँझसम्म व्यस्त छन् । शाक्यसहित अपराह्न ४ बजे धूम्रबाराही शङ्खपार्कबाट पदयात्रा तय गरेका बखत पानीका बीच माइकिङ र अन्य माध्यमबाट आफूहरु जनताबीच पुगेको सो पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठले बताउनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुखका उम्मेदवार सर्वाेत्तम डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठ पनि साँझसम्म प्रचारमा जुट्नुभयो । प्रमुखका अन्य उम्मेदवार साझा पार्टीका किशोर थापा र विवेकशील नेपाली दलका रञ्जु दर्शना मूल रुपमा सामाजिक सञ्जाल र सार्वजनिक बहसका कार्यक्रमबाट आफूलाई प्रचारमा ल्याउन व्यस्त भएकाले पानीका कारण खासै प्रभावित हुनुभएको पाइएन ।



प्रतिक्रिया दिनुहोस्