Logo

मौन अवधिमा के गर्छन् दलहरू ? : के गर्न पाउँदैनन् ?



काठमाडौं २९ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको खबर आजको नयाँ पत्रिकामा छ ।

कसरी हाल्ने मत ?
मतपत्रमा सुरुमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको निर्वाचन चिह्न छन् । संविधानसभा निर्वाचन ०७० मा प्राप्त समानुपातिक मतका आधारमा निर्वाचन चिह्न श्रेणीबद्ध गरिएको छ । धेरै मत पाएका दलको चिह्न सुरुमा छ ।

निर्वाचन आयोगले तयार गरेको मतपत्रमा तेर्सो लाइनमा सातवटा निर्वाचन चिह्न छन् । मतपत्रमा सुरुमा प्रमुख, दोस्रोमा उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला सदस्य, पाँचौँमा दलित महिला सदस्य र छैटौँ तथा सातौँ कोठामा खुला सदस्यका निर्वाचन चिह्न राखिएको छ ।

पाँचौँमा रहेको दलित महिला सदस्यपछि मतपत्रमा मोटो ठाडो लाइन छ । सो लाइनपछि दुईवटा कोठा छन् । ती कोठा खुला दुई सदस्यका लागि हुन् । पहिलो कोठामा दलीय उम्मेदरको हकमा एउटा निर्वाचन चिह्न, दोस्रो कोठामा दुईवटा चिह्न छन् । यी चिह्न उम्मेदवारको नामको वर्णानुक्रम अनुसार राखिएको हो । दलको उम्मेदवारबाहेक स्वतन्त्र उम्मेदवारको हकमा भने ती दुवै कोठामा एक–एकवटा निर्वाचन चिह्न राखिएको छ ।

मतदान गर्दा पहिलो लाइनको प्रमुखमा स्वस्तिक छाप हानेर दोस्रो लाइनको उपप्रमुख वा तेस्रो लाइनको वडाध्यक्षमा मतदान गर्न सकिन्छ । तर, एउटै ठाडो लाइनको प्रमुख, उपप्रमुख वा वडाध्यक्षलाई भने मत हाल्न पाइँदैन । त्यसो गरेमा मत बदर हुन्छ । यसरी नै महिला सदस्य र दलित सदस्यलाई पनि मतदान गर्न सकिन्छ ।

छैटौँ लाइनको खुला सदस्यका दुईजनाका लागि भने मतदान फरक छ । छैटौँ र सातौँ लाइनको खुला सदस्यमा भने लगातार लाइनमा एउटै दलका दुई उम्मेदवार वा ठाडो लाइनमा फरक पार्टीका उम्मेदवार वा स्वतन्त्रलाई पनि मतदान गर्न सकिन्छ । दुईजना भन्दा बढीलाई भने मतदान गर्न नमिल्ने निर्वाचन आयोगका सहसचिव नवराज ढकालले बताए । उनका अनुसार छैटौँ र सातौँ लाइनमा ठाडो, तेस्रो वा छड्के, तलमाथि जुनसुकै लाइनका चिह्नमा मतदान गर्न सकिन्छ, तर दुईजनालाई मात्रै मतदान गर्नुपर्छ ।

दलले जे गर्न पाउँदैनन्
– साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न नपाइने ।

– बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन नपाइने ।

– निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।

– उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न पाइँदैन ।

– मतदान अधिकृतले मतदान केन्द्रको वरिपरि मतदानको काममा खटिएका सुरक्षा कर्मचारीबाहेक अरू कसैलाई कुनै प्रकारको विस्फोटक पदार्थ, रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न रोक लगाउनेछन् ।

– मतदान अधिकृतले प्रचार निषेध गरेको अवधिमा मतदान केन्द्रको वरिपरिको क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण र सेवन गर्न निषेध गर्नेछन् ।

निर्वाचनलाई मौसमको चुनौती
-पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।

-विभागका अनुसार शुक्रबार काठमाडांै उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा भने मेघगर्जनसहित वर्षा पनि हुनेछ । ३१ वैशाखसम्म छिटफुट रूपमा वर्षा भइरहने मौसमविद् श्रेष्ठले बताए । सबैभन्दा धेरै वर्षा दिपायलमा २२ मिलिमिटर, ताप्लेजुङमा १५ मिलिमिटर र डडेल्धुरामा ५ मिलिमिटर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमी क्षेत्रमा कम वर्षा हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्