Logo

किशुनजीका अनुयायी, कान्छा काँग्रेस नेता



काठमाडौ, २९ बैशाख । झट्ट हेर्दा दुब्लो, पातलो शरीर, एउटा अल्लारे ठिटोजस्तो देखिन्छ उहाँलाई । तर, उहाँको गहन जिम्मेवारी, भूमिका, सोच, सपना, संकल्प अनि भावी योजनाबारे जानकार सबैलाई लाग्छ– यो कुनै साधारण व्यक्ति होइन । हर क्षेत्रमा अद्भूत सफलता हासिल गर्नु उहाँको अर्को विशेषता र चिनारी हो ।

बाल्यकालबाटै अपत्यारिलो संघर्ष पार गर्दै आउनुभएका, दर्जनौं सामाजिक संघ–संस्थामा आबद्ध, सञ्चारकर्मी, सामाजिक अभियन्ता, समाजसेवी, चर्चित कलाकार, राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालको प्रवक्ता, सिंगापुर र नेपालको समन्वय समिति स्वरूप  नेपालको समन्वय समिति स्वरूप  अध्यक्ष, जोरपाटी लियो क्लबका अध्यक्ष, चक्रबहादुर मेमोरियल पाठशालाका संस्थापक तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि राजु सुनारको प्रसंग हो यो ।

राजुको जन्म विक्रम सम्वत् २०४९ पुस २५ गते राजधानीनजिकैको सिन्धुपाल्चोक जिल्ला तत्कालीन दुबाचौर गाउँ विकास समिति–८ केउरेनीमा नरबहादुर सुनार र सीताका तीन छोरा तथा एक छोरीमध्ये तेस्रो सन्तानको रूपमा भएको हो । उहाँका दाइ फूलमान, दिदी सविना र भाइ रवि हुनुहुन्छ । उसो त उहाँको बाल्यकाल अन्य साथीसंगीभन्दा अलि पृथक् ढंगबाट बित्यो । सानैदेखि चञ्चले स्वभावका राजुले आफ्नो भविष्यको खाकास्वरूप त्यतिबेलाबाटै देखाइसक्नुभएको हो ।

आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्न सिपालु उहाँको बढीजसो संगत भने ठूलाबडा, गण्यमान्य तथा पाका मानिससँग रह्यो । उहाँको जन्म गाउँमा भएता पनि त्यस्तै चार वर्षको उमेरमा काठमाडौं ल्याइयो । र, छ वर्षको उमेरबाट जोरपाटीको नयाँबस्तीस्थित श्री पेगासस इङलिस स्कुलमा भर्ना गरियो । ‘तपाईंको पारिवारिक आर्थिक हैसियत त्यस्तो थियो त ?’ उत्तरमा राजु त्यो क्षण स्मरण गर्दै भन्नुहुन्छ– ‘त्यसको बेग्लै र अलि कारुणिक कथा छ । त्यतिबेला बुबा धातुजन्य हस्तकलाको र आमा गलैंचा बुन्ने काम गर्नुहुन्थ्यो । कोठा पनि नयाँबस्तीमा नै थियो । म घरबाट आएको केही समयपछि कोठानजिकै एउटा होटलमा भाँडा माझ्न थालें । त्यहाँ आउने कतिपय ग्राहकले मप्रति दया–माया गरेर केही रकम बक्सिस दिन्थे । होटलमा शनिवार बिदा दिने भएकाले संकलित रकम आमालाई पु¥याउन म कोठामा आउने गर्दथे । त्यही क्रममा एक दिन म कोठामा आउँदा किल्ले डेन्ढुप लामा नामका व्यक्ति आमासँग गफ गरिरहनुभएको रहेछ । हाम्रो यस्तो कुरा थाहा पाएर त्यसैको एक सातापछि मलाई संस्थापक प्रधानाध्यापक लामाले आफ्नै विद्यालयमा पढाइ, पोशाकलगायत सबै निःशुल्क गरिदिनुभयो ।’

पढाइमा अब्बल राजुलाई विद्यालय भर्ना भएको एक हप्तामात्रै नर्सरीमा राखेर एलकेजीमा पु¥याइयो । त्यहाँ पनि उहाँले एक महिनाभन्दा बढी पढ्नुपरेन र यूकेजीमा राखियो । र पनि परीक्षामा उहाँ पास हुनुभयो । कक्षा १ र २ मा उहाँ सर्वोत्कृष्ट हुनुभएपछि ३ कक्षा नपढाई कक्षा ४ मा राखियो । त्यतिबेलासम्म उहाँहरु भाडाको कोठाबाट आफ्नै घर बनाएर सरिसक्नुभएको थियो । जादूको छडीझैं ४ र ५ कक्षामा समेत उत्कृष्ट हुनभएपछि कक्षा ६ टपाएर ७ मा पु¥याइयो । तर, बिडम्बना वा भाग्यको खेल नै यस्तो– त्यतिबेला राजुलाई घर छाडेर बाहिर भाडामा बस्नुपर्ने भावनात्मक संकट आइलाग्यो ।

त्यस्तो के कारण थियो त ? राजुलाई हजुरबुबा जगबहादुरले अत्यन्तै माया गर्नुहुन्थ्यो । क्यान्सर रोगी उहाँ कहिले कुन छोराकहाँ त कहिले कुन छोराकहाँ बस्दै आउनुभएको थियो । तर, त्यतिबेला आएरचाहिँ उहाँलाई एक्लै कोठा लिएर बस्न मन लागेछ । हुन त त्यो अवस्थासम्म पुग्दा राजु पनि आर्थिक रूपमा आत्मनिर्भर भइसक्नुभएको थियो । ‘म नर्सरी पढ्दाबाटै स्टेजमा चढेर नाच्ने गर्दथें । ७ कक्षामा पुग्दा त नृत्य प्रशिक्षकको रूपमा बेलुका दुईवटा कक्षा सञ्चालन गर्दथें’ आफ्नो विगतप्रति गर्व गर्दै राजु भन्नुहुन्छ– ‘त्यसबापत मासिक ३५ सयदेखि चार हजारसम्म कमाइ हुन्थ्यो ।’ यतिमात्रै होइन– उहाँ ट्युसन पढाएर पनि थप २५–२६ सय आर्जन गर्नुहुन्थ्यो । तर, उहाँहरु नाति–हजुरबुबा बस्ने कोठाको भाडा भने मासिक एक हजार दुई सय थियो । दुखको कुरा नौ कक्षामा अध्ययन गर्दै गर्दा हजुरबुबाको देहान्त भयो । अनि राजु पनि आफ्नै घर फर्कनुभयो । एवं रीतले दिन बित्दै थिए, कक्षा १० सम्म नै छात्रवृत्ति पाएर २०६६ मा उहाँले ८३ प्रतिशत अंक ल्याई पेगाससबाटै एसएलसी पास गर्नुभयो ।
त्यसो त राजुलाई बहुविधाका धनी भन्दा पनि अत्युक्ति नहोला । कला र शिक्षामात्रै होइन– उहाँमा सानैबाट राजनीतिक चेतनाको दियो पनि बलिसकेको थियो ।

र त कक्षा ८ मा पाइला टेक्नासाथ उहाँले आफ्नै नेतृत्वमा दलित हस्तकला मजदुर संघ नामक संस्था स्थापना गर्नुभयो– जसमा २ सयभन्दा बढी त सक्रिय सदस्य नै थिए । तर, दुर्भाग्य त्यो संस्था केही समयको अन्तरमा नै राजनीतिक दलको तारो बन्न पु¥यो । २०६३ को घटना उहाँको मानसपटलमा अझै ताजा छ । टिठ मान्दै त्यो अविस्मरणीय क्षण सम्झनुहुन्छ– ‘केही परिचित त केही परिचित एक हुल आएर मलाई कोठैबाट उठाएर गाडीमा हाले ।

अलि पर पुगेर मोडिने बेलामा म गाडीबाट हाम फालेर भागें । साँझ आएर बन्दुक तेस्र्याएर धम्क्याए । अनि मैले अरु सबै छाडेर पढ्नेमात्रै वाचा गरें उनीहरुसामु ।’ एसएलसी परीक्षा दिएपछि खाली रहेको तीन महिनाको समयमा उहाँले साझेदारीमा सिद्धार्थ कला केन्द्र सञ्चालन गर्न थाल्नुभयो । त्यस्तै उहाँले दलित उत्थान महिला समूह गठन गरी सिलाइबुनाइ तालिमको कार्यक्रम ल्याउँदा ठूलै हंगामा मच्चियो । हो– त्यो घटना नै राजुको लागि प्रजातान्त्रिक–लोकतान्त्रिक–गणतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसमा समर्पित गर्ने खुट्किलो बन्न पुग्यो । ‘त्यो दृश्य नजिकैबाट नियालिरहनुभएकी एकजना काँग्रेस नेतृले घरमा लगेर सदस्य बनाउनुभयो’– उहाँ मुस्कुराउनुहुन्छ । त्यसपछि उहाँ नेपाल सक्रिय तथा सिर्जनशील युवा समूहको पनि अध्यक्ष बन्नुभयो ।

एकातिर राजुले चाबहिल मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा उच्च शिक्षा अध्ययन गर्न थाल्नुभयो भने अर्कातिर आफ्नो व्यक्तित्व विकास पनि गर्नुभयो । यही क्रममा २०६७ मा जय नेपाल कला केन्द्र, जय नेपाल सामाजिक युवा संस्था, जय नेपाल सञ्चार गृह गठन गर्नुभयो भने नेपाल दलित संघ जोरपाटी एकाइको समेत सचिव बन्नुभयो । यस्तै÷यस्तैमा बज्र इन्टरनेशनल कलेज जोरपाटीबाट स्नातक पूरा गर्नुभयो । अझ रमाइलो पक्ष त के छ भने नेपाल विद्यार्थी संघको संगठन नै नभएको ठाउँ जोरपाटीमा राजु आफैं संयोजक बनेर २४ वर्षकै इतिहासमा ठूलो तरंग उत्पन्न गर्नुभयो । यस अर्थमा त उहाँ काँग्रेसको सम्पन्न १३औं महाधिवेशनबाट करिब तीन हजार दुई सय जनामध्ये कान्छो प्रतिनिधि घोषित हुनुभयो ।

एउटा अनुकरणीय यस्ता व्यक्तित्वको अहिलेसम्म विवाह भने भएको छैन । कारण के हो त ? के कसैसँग मायाप्रीति गाँसिएको छैन ? विवाह नगर्ने वा कहिले गर्ने भन्ने जिज्ञासामा राजु प्रतिप्रश्न गर्नुहुन्छ– ‘हरेक पाटोको कारण नै हुनुपर्छ भन्ने छ र ? म आफैंमा काँग्रेस सभापति तथा आदरणीय सन्त नेता कृष्णप्रसाद भट्टराईको अनुयायी हुँ । समाज र जनताप्रति समर्पित भएर होला– मलाई विवाहप्रति रुचि नै छैन ।



प्रतिक्रिया दिनुहोस्