Logo

महन्थ ठाकुरले घृणित काम गरे, यो घटिया षड्यन्त्र हो : यादव



काठमाडौं, २९ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्सि आईतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । उनले भने,‘निर्वाचनमा नजाँदा किन गईनस् ? भन्छन्, अनि निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाईस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ।’

आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिईरहेको अवस्थामा एक्कासी यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै भने,‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ।’ यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लािग पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले निर्वाचनमा भाग लिएपनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको समेत दाबी गरे । यादवले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको स्पष्ट पारे । उनले भने,‘निर्वाचनमा भाग लिनु भनेको जनतामा जानु हो, त्यसैले यो पनि एउटा संघर्ष नै हो नि।’

उनले आफूहरुले उठाएका मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनेर नै सरकारले परिमार्जितसहितको संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको जिकिर गरे । उनले भने,‘बैशाख ९ गते सत्तारुढ दल र मधेशी मोर्चावीच संशोधन प्रस्ताव अघि बढाउने भन्नेबारेमा विषयवस्तुमा नै सहमति भएको हो, सहमति अनुसार नै हामीले एक महिनाको लागि घोषित आन्दोलनहरु स्थगित् ग¥यौं।’ उनले सरकारले सहमति अनुसार नै १७ गते नै संशोधन प्रस्ताव पारित गराउने प्रयास गरेको भएपनि त्यही दिन १० जना सांसद गायब भएकोले पारित हुन नसकेको समेत स्पष्ट पारे ।

उनले अब जेठ ४ गतेको लागि संसद बैठक बोलाईएकोले सकेसम्म त्यही दिन नभए त्यही आसपासमा संशोधन प्रस्ताव पारित हुने समेत विश्वास व्यत्तः गरे । यादवले भने,‘मलाई विश्वास छ, संशोधन प्रस्ताव पारित हुन्छ।’संशोधन प्रस्ताव पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग र समर्थन गर्ने विश्वास लिए । उनले थपे,‘एमाले संशोधनमा बाधक बन्दैन्।’

उनले यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन सफल बनाउनको लागि जनताहरुको उत्साहजनक सहभागिता रहेको बताए । उनले भने,‘जनतामा अहिले व्यापक उत्साह छाएको छ ।’ यद्धपी यादवले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन आफूले सहज नदेखेको जिकिर गरे।

यादवले दोस्रो चरणको निर्वाचनलाई सहज र सरल बनाउनको लागि सरकारले ७ वटा कामहरु गर्नुपर्ने भन्दै सुझावहरु अघि सारेका छन् । उनले अघि सारेका सुझावहरुमा तराई÷मधेशमा छुटेका मतदाताहरुको नाम रेजिष्ट्रेशन गर्नुपर्ने, निर्वाचनमा भाग लिने वातावरण बनाउनको लागि जेठ ४ गते वा यसकै आपसपासमा संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्ने, मधेशमा आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहाई गर्नुपर्ने, मुद्दा फिर्ता गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्ने, चुनावपछिमात्रै बजेट ल्याउनुपर्ने र निर्वाचनजस्तो राजनीतिक झगडामा नेपाली सेनालाई उतारेर दुरुपयोग गर्न नहुने रहेको छ।

यादवले सकेसम्म भोलि नै यी कामहरु मन्त्रिपरिषदबाट गराउनको लागि सरकारसँग आग्रह गरे। त्यस्तै यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिए । उनले भने,‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो।’

विगतमा गठबन्धनको विरुद्धमा उफ्रिनेहरुले नै आज यस्तो घृणित काम गरेको आरोप लगाए । यादवले राजपाका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले भने,‘एक दुई जना मान्छे बोलाएर आफूले आँफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो।’

त्यस्तै उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पार्टी एकता हुने तर अहिले हतारमा प्रक्रिया अघि नबढाईहाल्ने तर्क गरे। उनले भने,‘पार्टी एकीकरण भनेको गिट्टी, बालुवा मिसाएजस्तो होईन नि, विचार मिल्नुपर्यो, भावना मिल्नुपर्यो, आवश्यकत्ता हुनुपर्यो नि।’



प्रतिक्रिया दिनुहोस्