Logo

मौन अवधिमा आचारसंहिता उल्लंघन भएको देखियो, आयोगले कडा कारबाही गर्छ : सचिव मैनाली



काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले निर्वाचन मौन अवधि सुरु भएकोले यो अवधिमा आचारसंहिता उल्लंघन गरेको पाईएको बताउँदै ती घट्नाहरुको छानबिन गरेर आयोगले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव मैनालीले मौन अवधिमा उम्मेद्धवारले पनि आचारसंहिता विपरित चुनावी प्रचार गरिएको पाईए उम्मेद्धवारको उम्मेद्धवारी नै रद्द गर्ने सम्मको चेतावनी दिएका हुन् । उनले भने,‘निर्वाचन आचारसंहिता कडाईको साथ लागुन गर्ने हाम्रो अठोट हो, यसमा आयोगले दिनरात मेहनत गरेर काम गरिरहेको छ, आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गरेको पाईए हामी कडा भन्दा कडा कारबाही र एक लाखसम्मको जरिवाना हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सचिव मैनालीले मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने विश्वास दिलाए । उनले मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्नरगराउन नपाइने भएकोले आयोगले अहिले कडाईका साथ यसबारेमा रिपोर्टहरु समेत लिईरहेको जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएकोे छ ।निर्वाचन आयोगमा फेसबुकबाट चुनावी प्रचार गर्ने काम नरोकिएको तथा मोबाइलमा एसएमएस पठाएर भोट मागेको भन्दै उजुरी पर्न थालेको प्रारम्भिक जानकारी आफूसँग भएकोले यसबारेमा आयोगका सुचना प्रविधि अधिकृतहरुले अनुगमन गरिरहको जानकारी दिए ।

उनले भने,‘आयोगले उजुरी परेपछि चुनावी प्रचार सामग्री कहिले पोष्ट गरेको, कहिले शेयर गरेको भनेर अनुसन्धान थालेको छ, हिजो अस्ति फेसबुक वालमा पोष्ट भएको, शेयर भएको रहेछ भने केही छैन तर आज पोष्ट तथा शेयर गरेको प्रमाणित भयो भने निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा कारबाही गछौँ ।’

मैनालीले मौन अवधिमा कसैको लागि भोट माँग्न पनि नपाईने र कसैको विरुद्धमा प्रचार गर्नपनि नपाईने जानकारी दिए । उनले भने,‘मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हुँदैन, यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ ।’ उनले मौन अवधिमा आचारसंहिता कत्तिको पालना भएको छ वा छैन भनेर आयोगले देशैभरि नै आफ्ना अधिकारीहरुलाई खटाएको समेत जानकारी दिए । त्यस्तै उनले गोप्य रुपमा आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा सचिवहरुलाई खटाएको समेत जानकारी दिए भने जिल्लामा पनि सिडिओ लगायतका अफिसरहरुलाई यसको बारेमा निगरानी गर्न लगाएको जानकारी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हुँदैन । त्यस्तै उनले उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने समेत बताए । उनले भने,‘यसको लागि हामीले प्रेस काउन्सिल नेपालसँग सहकार्य गरेका छौं, आचारसंहिता उल्लंघन भएको पाईए हामी ती संस्थाहरुलाई समेत ध्यानाकार्षण गराउँछौं।’ सञ्चारमाध्यममा आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्नको लागि आयोगले काउसिन्सलाई निश्चित रकम समेत प्रदान गरिसकेको उनले जानकारी दिए ।

त्यस्तै मैनालीले निर्वाचन आयोगले छोटो समयमा पनि मतदाता शिक्षा कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरेको स्पष्ट पारे । यद्धपी उनले मतदाता शिक्षा आयोगले सोचेजस्तेगरि प्रभावकारी रुपमा सञ्चालन गर्न नपुगेको हो कि भन्ने लागेको स्विकारे । उनले भने,‘यो स्वाभाविक पनि हो । किनभने, छोटो समयमा हामीले धेरै कुरा गर्नुर्पयो । धेरै तयारीका साथै मतदाता शिक्षाका लागि कस्ता(कस्ता सामाग्री बनाउने भन्ने डिजाइन गर्नुर्पयो । कसरी गर्ने, कस्तो र कति परिणाममा गर्ने भन्ने निर्णय गर्नुर्पयो । त्यसपछि छाप्नुर्पयो । मतदाता शिक्षा प्रचारका लागि कर्मचारी नियुक्त पनि गर्नुर्पयो । त्यसपछि उनीहरुलाई तालिम दिनुर्पयो ।’

उनले मतदाता शिक्षालाई कार्यान्वयनमा ल्याउनको लागि प्रत्येक गाउँ र नगरपालिकाहरुमा २१ हजार निर्वाचन शिक्षा कर्मचारीहरु खटाएको जानकारी दिए । उनले भने,‘६ प्रकारका निर्वाचन चिन्ह छन्, यसले गर्दा केही समस्याहरु छन्।’ यसका बावजुद पनि आयोगले पर्चा र पम्प्लेट र नमूना मतदान विधिलाई गाउँसम्मै पुर्याएको दाबी प्रस्तुत गरे ।

त्यस्तै उनले मतदाता शिक्षाको लागि आयोगले विभिन्न माध्यमहरुमार्फत प्रचार तथा प्रसार गरेको समेत जानकारी दिए । उनले भने,‘यो कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउनको लागि हामीले हदैसम्मका सबै उपायहरु अपनाएका छौं, टोलटोलमा माइकिङ गरेका छौं, विभिन्न सञ्चारमाध्यमहरुमार्फत एनिमेशन गरेका छौं ।’ उनले यो कार्यक्रमको लागि आयोगले पौने अर्ब रुपैयाँ बजेट निकासा गरेको समेत जनाए । यद्धपी उनले कुन शीर्षकमा कति खर्च हुने हो त्यो निर्वाचन सम्पन्न भएपछि मिडियाहरुसामू प्रकास पार्ने समेत स्पष्ट पारे ।

उनले सरकारले दुई चरणको निर्वाचन घोषणा गरेकोले अब दोस्रो चरणको निर्वाचन पनि घोषित मिति अर्थात जेठ ३१ गते नै हुने स्पष्ट पारे । उनले भने,‘दुवै चरणको निर्वाचन घोषित मितिमै हुन्छन्, पहिलो चरणको निर्वाचनको संघारमा हामी छौं।’

सचिव मैनालीले निर्वाचन शिक्षाका लागि राजनीतिक दल र स्वयम् उम्मेदवारहरु बढ्ता जिम्मेवार हुने भएकोले उनीहरुले सकेसम्म आफ्ना कार्यकर्तामार्फत घरघरमा गएर आफ्ना मतदातालाई मतदाता शिक्षा सिकाउने काम गरेको समेत दृष्टान्त प्रस्तुत गरे ।
निर्वाचन आयोगले नमूना मतपत्रमा सिकाएको छ । हरेक मतदान केन्द्रमा गएर सिकाएको छ । अर्को पक्ष मतदाताले पनि कसरी मतदान गर्ने भन्नेमा चासो राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्