Logo

आइपिएल इतिहासमै पहिलोपटक बन्यो सर्वाधिक रन



मुम्बई, २९ वैशाख । मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पञ्जावले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ ।

गएराति मुम्बईको वाङ्खडे रंगशालामा भएको खेलमा पाहुना टोली पञ्जाब ७ रनले विजयी भयो ।पञ्जावले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रनमै समेटियो । मुम्बईका लेण्डल सिमोन्सले ३२ बलमा ५९ रन तथा काईरन पोलार्डले २४ बलमा अविजित ५० रन बनाए ।

खेलको अन्तिम ३ बलमा जितका लागि ९ रन चाहिएको अवस्थामा पञ्जावका मोहित शर्माले मुम्बईका पोलार्डलाई लगातार दुई डट बल फालेपछि पञ्जाव विजयी भएको हो ।

यसअघि खेलमा पहिले व्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । पञ्जावका लागि ऋद्धिमन शाहले ५५ बलमा अविजित ९३ रन बनाए । ग्लेन म्याक्सवेलले २१ बलमा ४७ रन जोड्दा मार्टिन गुप्टिलले १८ बलमा ३६ रनको योगदान दिए ।

म्याचमा कुल ४ सय ५३ रन बन्यो । एउटै म्याचमा यति धेरै रन बनेको आइपिएलको इतिहासमै यो पहिलो पटक हो । गएरातिको जीतपछि पञ्जावले जारी आईपिएलको प्ले अफमा पुग्ने सम्भावना बलियो पारेको छ । मुम्बई भने यसअघिनै प्लेअफमा पुगिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्