Logo

स्थानीय तहको निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिमा सहयोग गर्छ : राष्ट्रपति भण्डारी



(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : बैंकक (थाइल्यान्ड), २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिमा सहयोग गर्ने बताउनुभएको छ ।

आफ्नो सम्मानमा आज थाइल्यान्डस्थित नेपाली राजदूतावासले आयोजना गरेको समारोहमा उहाँले भन्नुभयो, “लामो समयसम्म स्थानीय तह जननिर्वाचित प्रतिनिधिविहीन हुँदा विकास निर्माण प्रभावित भइरहेका अवस्थामा हुन लागेको स्थानीय तहको चुनावमा जनताको व्यापक आकर्षण छ ।”

राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरेर देशको उन्नतिका लागि अगाडि बढ्नु आजको पहिलो आवश्यकता हो भन्दै स्थानीय तहको निर्वाचनपछि संविधानले तोकिएको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन पनि गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका प्रवासी नेपालीको योगदान आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “संसारभरिका गैरआवासीय नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाहना नेपाल सरकार र राजनीतिक दलहरुको छ ।”

राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको बताउँदै शान्ति र स्थायित्वबिना मुलुकको आर्थिक विकास हुन नसक्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले यसतर्फ सोच्नुपर्छ भन्नुभयो ।

सो अवसरमा गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज दाहालले नेपालका भूकम्पपीडितलाई राहत र भूकम्पपछिको पुनःनिर्माणमा सङ्घले महत्वपूर्ण सहयोग गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा सवारी मन्त्री केशवकुमार बुढाथोकी, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी, उच्चपदस्थ नेपाली अधिकारी, सञ्चारकर्मी, नेपाली समुदायका प्रतिनिधिलगायतको सहभागिता थियो ।

कार्यक्रममा थाइल्यान्डमा विभिन्न पेसा तथा व्यवसाय गरी बस्ने प्रवासी नेपालीले राष्ट्रपति भण्डारीलाई सम्मान गरेका थिए ।

यस्तै राष्ट्रपति भण्डारीको सम्मानमा आजै यहाँस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो ।

सो अवसरमा राजदूत अधिकारी र श्रीमती अधिकारीले राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो । समारोहमा सवारीमन्त्री केशवकुमार बुढाथोकीलगायत राष्ट्रपति भण्डारीको भ्रमण दलका सदस्यको सहभागिता पनि थियो । रासस



प्रतिक्रिया दिनुहोस्