Logo

ठूलो आकारको मतपत्रप्रति मिश्रित प्रतिक्रिया



(भीष्मराज ओझा): ललितपुर, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धेरै दल दर्ता भएका काठमाडौँ, ललितपुर, भक्तपुरलगायत १६ जिल्लामा ६८ लाइन भएको सबैभन्दा लामो मतपत्र बनाएको छ । लामो भएका कारण मतपत्रमा चुनाव चिह्न खोज्न मात्र नभई स्वस्तिक छाप लगाउन र मतपेटिका राख्दा पट्याउनसमेत गाह्रो भएको मतदाताको भनाइ छ ।

ललितपुरको एकान्तकुनामा रहेको वाग्मती अञ्चल यातायात कार्यालयस्थित मतदान केन्द्रमा भेटिनुभएकी सुमती शाक्यले मतपत्र लामो भएका कारण चुनाव चिह्न खोज्न समय लागेको र निकै ध्यान दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।

सोही मतदान केन्द्रमा मतदान गर्नुभएकी सविता तिमिल्सिनाले पनि लामो मतपत्र भएकाले मतदान गरिसकेपछि पट्याउँदा स्वस्तिक छापको मसी लत्पतिन्छ भन्नेमा हेक्का राख्नुपर्ने बताउनुभयो । धेरै चुनाव चिह्न भएका कारण फरक फरक दलका वा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न निकै होसियार हुनुपर्ने शाक्यको भनाइ छ । निर्वाचनमा मतदाता शिक्षाको कमी भएको उहाँको गुनासो थियो ।

ललितपुरकै खुमलटार मतदान केन्द्रमा मतदान गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले ठूलो मतपत्र भए पनि स्वस्तिक छाप लगाउने ठाउँ सानो भएका कारण मतदान गर्न निकै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । मतदान गर्न ज्येष्ठ नागरिक र हात काम्ने व्यक्तिलाई गाहे भएको हुनसक्ने बताउँदै गाउँलेले आगामी दिनमा उम्मेदवारको मनोनयन दर्तापछि मात्र मतपत्र छाप्नुपर्ने सुझाव दिनुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो । ललितपुरका अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मानिसहरु मतदानका लागि लामबद्ध थिए । विसं २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा छ हजार छ सय ४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ । निर्वाचन अन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचित हुनेछन् ।

ललितपुरको जावलाखेलस्थित मतदान केन्द्रमा मत दिनुभएकी पत्रकार बबिता बस्नेतले भने मतपत्र ठूलो भए पनि मतदान गर्न खासै गाहे नभएको बताउनुभयो । स्थानीय तहको निर्वाचन लामो समयको अन्तरालमा भएकाले मतदाताले उत्साहका साथ मतदान गरिरहेको उहाँको भनाइ छ ।

त्यस्तै पाटन दरबार स्क्वायरस्थित मतदान केन्द्रमा मतदान गर्नुभएकी बालकुमारी शिल्पकारले पनि मतपत्र ठूलो भए पनि मतदान गर्न कुनै समस्या नभएको बताउनुभयो । सोही केन्द्रमा भेटिनुभएका अमिरमान वज्राचार्यले भने मतपत्र राख्ने टेबलसमेत सानो भएकाले चुनाव चिह्न खोज्न अफ्ठ्यारो भएको गुनासो गर्नुभयो ।

ललितपुरमा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका गरी छ स्थानीय तहको निर्वाचन भइरहेको छ । कुल २९ वडा रहेको महानगरपालिकामा प्रमुखका लागि १४ र उपप्रमुखका लागि १२ तथा अन्य पदका गरी छ सय ३४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये चार जना निर्विरोध भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्