Logo

प्लास्टिकमा आन्द्रा बोकेर हिँड्ने राईले पाए नयाँ जीवन



पथरी (मोरङ), १ जेठ । खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएका छन् ।

४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषय समाचार प्रकाशित भएको थियो । उक्त समाचार विभिन्न सञ्चार माध्यममा आएपछि नोबेल अस्पतालले राईको निःशुल्क उपचार गरेको हो । एक महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । अल्सर भएर डेढ वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको शल्यक्रिया भएको थियो ।

प्लास्टिकको पोकोमा आफ्नो आन्द्रा बोकेर हिँड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताए । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि बिपीले शल्यक्रिया गरेपछि छ महिनामा बोलाएको थियो ।

तर, खर्च अभावले राईले १५ महिनादेखि शरीर बाहिर आन्द्रा लिएर हिँड्न बाध्य थिए । नोबेल अस्पतालका वरिष्ठ जेनेरल सर्जन डाक्टर जेएन भगवतीको टोलीले उक्त उपचार गरेको हो । “लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स (थुपै्र घाउ) भएको थियो,” उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भने, “बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो । रासस



प्रतिक्रिया दिनुहोस्