Logo

मतगणना अति सुस्त



काठमाडौं २ जेठ ।
काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१ मिनेट लाग्यो ।

यही गतिमा काम अघि बढ्ने हो भने १ लाख ९० हजार मत गनिसक्न ठ्याक्कै ६ हजार ६ सय ५० घण्टा लाग्नेछ । अर्थात् २४ सै घण्टा निरन्तर गन्दा २ सय ७७ दिन खर्चिनुपर्नेछ । त्यो भनेको ९ महिना ७ दिन हो ।

संसारभरिका नेपाली जति छिटो–छिटो मतगणना होस् भनेर आतुर देखिएका छन्, गणना भने ठीक उल्टो अति सुस्त भइरहेको छ । यसलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ ।

काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् । मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ । एउटै मतपत्रबाट प्रमुख/उपप्रमुखसहित ७ स्थानको मत निक्र्याेल गर्न समय लागिरहेको छ ।

मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी नदेखे मतदान अधिकृतहरूले नजिक लगेर राम्ररी देखाउनुपर्छ । ‘एउटा मतपत्र गन्न कम्तीमा दुई मिनेट लाग्दोरहेछ,’ गणनामा बसेका एक पार्टीका प्रतिनिधिले भने, ‘वडा–वडाको छुट्टाछुट्टै गणना नगर्ने हो भने सक्न महिनौं लाग्छ ।’

अधिकांश नगरपालिका/गाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् । ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ । अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् । आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् ।

अर्कातिर धेरै मतदाता भएका स्थानमा मतगणना गर्ने ठाउँ पर्याप्त हुनुपर्नेमा निर्वाचन आयोगले त्यसको व्यवस्थापन गर्न सकेको छैन । त्यसले पनि ढिलाइ भइरहेको छ । ‘पहिलो चरणको मतगणना दोस्रो चरण (जेठ ३१) निर्वाचन पुग्दासम्म जारी रहलाजस्तो छ,’ सुस्त मतगणनालाई लिएर सोमबार सोसल मिडिया र बाहिर यस्ता टिप्पणी भए ।

विज्ञहरूले एउटै निकायको मतगणना फरक–फरक ठाउँमा गर्न सकिने सुझाव दिएका छन् । अधिकांश ठाउँमा एउटै स्थानमा मात्र मतगणना भइरहेको छ । विकल्पबारे आयोगले गहनतापूर्वक सोचिसकेको पनि छैन । प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्मको मत एउटै मतपत्रमा भएकाले यसभन्दा तीव्र रूपमा गन्न भने सम्भव नभएका दलका प्रतिनिधिहरूको भनाइ छ ।

सहरी विकासमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले मतगणनालाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए । अहिलेकै गतिमा मतगणना भए धेरै समय लाग्ने उल्लेख गर्दै उनले भने, ‘हामीले चाँडोभन्दा चाँडो गणना होस् भनिरहेका छौं ।’

एमाले सचिव योगेश भट्टराईले पनि हालको जस्तो मतगणनाअनुसार पूरा सकिन अनिश्चित समय लाग्ने बताए । उनले पार्टीका तर्फबाट निर्वाचन आयोगलाई छिटो मतगणना गर्ने वातावरण मिलाउन आग्रह गरिसकेको जानकारी दिए । ‘कति कर्मचारी चाहिन्छ, छिटो छुट्याउनुहोस् भनेका छौं,’ उनले भने ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई निरीक्षणका क्रममा ललितपुर पुग्दा आफ्ना कार्यकर्ताहरूले दोस्रो चरणको निर्वाचन हुँदासमेत हालको मतगणना जारी रहन सक्ने भन्दै हँसाएका थिए । उनले पार्टीका तर्फबाट निर्वाचन आयोगलाई छिटो मतगणना गर्न पहल गर्ने बताइन् । उनले भनिन्, ‘कर्मचारीको अनुपातमा मतगणना भइरहेको छ । यसलाई थप गति दिनु आवश्यक छ ।’ कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्