Logo

राजिनामा दिन्छु भन्दा पनि सुख पाएनन प्रचण्डले



काठमाडौं २ जेठ । -संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका हुन् ।

-सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिका आधारमा अब सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा रहेका

-राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए ।

-प्रधानमन्त्रीले आफूले दुई मुख्य कार्यभारसहित सरकारको नेतृत्व लिएको प्रसंग सुनाउँदै स्थानीय तहको नयाँ संरचनाअनुसारको निर्वाचन गराउन सफल भएको बताए । संविधान संशोधनको प्रयास पनि गरिरहेकाले अब सत्तासाझेदार दलसँगको सहमतिका आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले अब यही साताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने र राजीनामा दिएपछिको कामचलाउ सरकारले बजेट ल्याउने बताउनुभयो,’ राजपाका एक नेताले भने । तर, आफूहरूले प्रचण्डकै नेतृत्वको सरकारले संविधान संशोधन गरेपछि मात्र सरकारको विषयमा सोच्न सकिने बताएका थिए ।

प्रधानमन्त्रीले आफूले राजीनामा दिनुअघि नै ४ जेठको संसद् बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाएर पारित गराउने योजनामा सरकार रहेको जानकारी दिएको मोर्चा नेता महेन्द्र राय यादवले बताए । ‘प्रधानमन्त्रीले ४ जेठमा संसद्मा संविधान संशोधन विधेयक अगाडि बढाउने र त्यसलाई कसरी पारित गराउने भन्ने विषयमा केन्द्रित रहेर आफ्ना कुराहरू राख्नुभयो,’ बैठकमा सहभागी राजपा नेता यादवले भने, ‘हामीले समस्या हल गर्ने विषयमा गम्भीर रूपमा कुरा राख्यौँ, जसरी पनि पारित गराऔँ भन्ने हाम्रो कुरा राखेका छौँ ।’

प्रधानमन्त्रीसँग राजपाका शीर्ष नेताहरूले झन्डै साढे दुई घन्टा छलफल गरेका थिए । भेटमा राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, महेन्द्रराय यादव थिए । बैठकको सुरुमै राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफल भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए ।आजको नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्