Logo

दोस्रो चरणको निर्वाचनको सुनिश्चितता नगराई प्रचण्डले राजिनामा दिनुहुन्न : अजयशंकर नायक, कानूनमन्त्री



कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार निकै गम्भिर भएर लागिपरेको स्पष्ट पारेका छन् । यद्धपी उनले सरकारले भोलिल नै संसदमा उक्त संशोधन प्रस्तावव निर्णयार्थ पेश नगर्ने बताएका छन् । सरकारसँग दुई तिहाई पुग्ने धरातल नभएकोले पनि प्रस्ताव भोलि नै निर्णयार्थ प्रस्तुत नहुने उनको तर्क छ । त्यस्तै मन्त्री नायकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि नै राजिनामा दिने भन्ने कुरामा पनि कुनै सत्यता नभएको जिकिर गरे । उनले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको वातावरण, मोर्चासँग नयाँ किसिमको सहमति र बजेट आउने वातावरण नबनेसम्म प्रधानमन्त्रीले राजिनामा नदिने प्रष्ट पारेका छन् । यीनै विषयमा केन्द्रित रहेरर पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि मन्त्री नायकसँग गरेको कुराकानीको सम्पादित अंश :

अब संविधान संशोधन प्रस्ताव भोलि पारित गराउनुहुन्छ ?

भोलि पारित गराउनेभन्दापनि प्रस्ताव पारित गराउनको लागि धेरै पहिलेदेखि नै यहाँ कसरत भैरहेको छ । यो कुरा सबैलाई राम्रोसँग थाहा छ । अहिलेपनि सरकारले त्यही कसरत गरिरहेके अवस्था छ ।

कसरत गर्नुभयो होला, तर देश र जनतालाई अहिलेसम्म परिणाम त दिन सक्नुभएको छैन नि ?

देश र जनतालाई दिन खोजेको हो नि । यो कुरा मधेशी मोर्चाका साथीहरुलाई समेत राम्रोसँग थाहा । सरकारले संशोधन प्रस्ताव पारित गराउनकै लागि दुई तिहाई पुर्याउन खोजेको हो नि । मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउनको लागि कतिको कसरत छ ? भन्ने कुरा सबैलाई राम्रोसँग थाहा छ ।

कसरत गर्नुभएको होला, तर अहिलेसम्म एमालेलाई आश्वस्त पार्न सक्नुभएन नि ?

एमाले एउटा अतिमा छ भन्ने कुरा सबैलाई परेकै छ । मधेशी मोर्चापनि एउटा हठमा थिए, तर अहिले न्यूनतम् समझदारीमा आए । जबकी संशोधनमाथिको संशोधन हामीले संयुक्त हस्ताक्षरसहित नै दर्ता गराएका हौं । तर एमाले अहिले एउटा अतिमा छ । मधेशीलाई गाली गरेर पहाडको सेन्टिमेन्ट लिनको लागि एमाले अगाडि छ भन्ने कुरा सबैले बुझेको छ ।

तर एमालेलाई त निर्वाचनमा जनताले रुचाए नि ?

त्यही म भन्दैछु कि एमालेले मधेशीलाई गाली गरेर एउटा सेन्टिमेन्ट बनाएको हो । अरु केही होईन।

उसो भए अब तपाईहरु मधेशको मुद्दालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

अहिलेपनि म विनम्रताका साथ निवेदन गर्छु कि साम्प्रादायिक कुरामा नजाऔं । मधेश र पहाडलाई विभाजन गर्नेतिर नजाऔं । मधेशपनि एउटा राष्ट्रको हिस्सा हो । देशको ठूलो हिस्सा हो। त्यसलाई गम्भिरतापूर्वक लेउ । र, मधेशको समस्या समाधान गरेर अघि बढौं भन्ने हाम्रो जोड छ । यसमा एमालेले गम्भिरताका साथ यो परिस्थितिलाई बुझ्नुपर्छ । किनकी सरकारले मात्रै यो समस्या झेलिरहेको अवस्था होईन, स्वयम् एमालेपनि यो समस्याबाट प्रभावित बनेको छ ।

संविधान संशोधन नगरीकन प्रधानमन्त्रीले राजिनामा दिँदैहुनुहुन्छ होईन ?

हामीले के भनिरहेका छौं भने दोस्रो चरणको निर्वाचनको एउटा बलियो धरातल तयार पारेर अर्थात निर्वाचनको सुनिश्चितता गर्ने, मधेशी मोर्चासँग आवश्यक परे नयाँ सहमति कायम गरेर पनि जाने, र निर्वाचनको वातावरण बनाएरमात्रै काँग्रससँग भएको सहमति अनुसार उहाँले छोड्ने कुरा हुन्छ ।

उसो भए तपाईहरु अहिले नै सरकारको नेतृत्व छोड्ने पक्षमा हुनुहुन्न ?

अघि भर्खरै तपाईले प्रश्न गर्नुभयो कि मोर्चाको माँग पूरा नगरीकन नै प्रधानमन्त्रीले राजिनामा दिने भनेर ? त्यसैले म तिथि मिति भन्दा पनि दोस्रो चरणको निर्वाचनको सुनिश्चिततासहित मोर्चासँग पनि एउटा नयाँ किसिमको सहमति गरेर राजिनामा आउँछ ।

प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गरेर राजिनामा दिने कुरा थियो नि ?

भोलि नै नदिएपनि अब छिट्टै प्रक्रियामा जान्छ ।

छिट्टै भनेको कहिले हो ? समय त तोक्नुहोस ?

मैले यसअघि पनि यहाँसँगको अन्र्तवार्ताहरुमा भनेको छु कि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएर यो सरकारले राजिनामा दिने हो भनेर । राजिनामा दिनको लागि कतै हिचकिचाहट छैन । निर्वाचनको वातावरण बनाएरमात्रै राजिनामा दिने हो ।

उसो भए प्रधानमन्त्रीले राजिनामा दिने समयसिमा तलमाथि हुने भयो ?

समयसिमा सर्दैन् । हामीवीच राजिनामा दिनेबारे सहमति छ । त्यही समयभित्रै रहेर हामी राजिनामा दिन्छौं ।

भनेपछि प्रधानमन्त्रीले बजेट ल्याएपछिमात्रै राजिनामा दिने हो ?

यो कुराहरु त मिडियाले नै बाहिर ल्याईसकेको छ नि । काँग्रेस र हामीवीच भएको सहमति अनुसार नै हामी राजिनामा दिन्छौं । तर निर्वाचनको वातावरण, मोर्चालाई कन्भिन्स गर्ने र बजेटको सबैको वातावरण बनाएर राजिनामा आउँछ ।

उसो भए काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड अझै तयार हुनुहुन्न ?

उहाँ तयार हुनुहुन्छ । हामी काँग्रेससँग भएको सहमति अनुसार नै राजिनामा दिन्छौं । तर उहाँहरुले हामीले अहिले उठाएका कुराहरु जो छन्, ती सबै गर्ने वातावरण बन्छ भने अहिले भर्खरै तु का तु राजिनामा आउँछ ।

तर प्रधानमन्त्री प्रचण्ड देशको जिम्मेवार व्यक्ति हो नि, उहाँले बोलेको कुरा पूरा गर्न सक्नुभएन भने प्रश्नचिन्ह त उठ्छ नि ?

उहाँले कहाँ र कहिले भन्नुभएको थियो र ? म जेठ ४ गते नै राजिनामा दिन्छु भनेर । अहिलेपनि उहाँहरुसँग पनि छलफल भैरहेको छ । प्रचण्डजीबाट नै निर्वाचन हुन्छ भन्ने विश्वास छ ।

उसो भए प्रचण्ड जेठ ३१ गतेको निर्वाचनपछिमात्रै राजिनामा दिने पक्षमा हुनुहुन्छ ?

होईन । त्यस्तो विल्कुलै होईन । आन्तरिक समझदारी भयो भने मात्रै यो संभव छ ।

काँग्रेस सभापति देउवाले राजिनामा दिनुहोस् भन्नुभयो भने नि ?

हो, उहाँले भन्नुभयो भने प्रधानमन्त्रीले अहिले नै राजिनामा दिनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्