Logo

देउवा प्रधानमन्त्री भएपछि मुलकको सबै समस्या समाधान हुन्छ : मन्त्री खड्का



खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राजिनामा दिने खुलासा गरेका छन्। मन्त्री खड्काका अनुसार प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । त्यस्तै उनले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो पार्टी बन्ने दाबी प्रस्तुत गरेका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले मन्त्री खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो मतपरिणामलाई कांग्रेसले कसरी लिएको छ ?

अहिले सिंगो मतपरिणामको कुरा भन्दा नेपाली कांग्रेसले जो व्यवस्थालाई संस्थागत गर्न अर्थात् निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न, मुलुक र जनताले जित्नका निमित्त अहिले रहेको व्यवस्थालाई अरुले फेरी चलाउन नसक्नेगरि व्यवस्थित् गर्नको लागि स्थानीय तहको निर्वाचन आवश्यक थियो र, पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । त्यसकारण यहाँनिर कांग्रेसको जित सुनिश्चित छ । नेपाली कांग्रेस के चाहन्छ भने संख्यामा पार्टी तलमाथि हुन सक्छ, तर हामी मुलुक र जनताले जितेको हेर्न चाहन्छौं । यसर्थ पनि यो निर्वाचनको महत्व रहेको छ । यसमै नेपाली कांग्रेसको जित रहेको छ ।

मतपरिणाम हेर्दा कांग्रेस पहिलो पार्टी हुन सक्ने आधारहरु देखिएनन् नि, किन ?

अहिले धेरै ठाउँको मतगणना गर्न बाँकी नै छ । नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा कुनै शंका छैन । तथापि कदमकदापि एक दुई सिटले तलमाथि भैहाल्यो भनेपनि केही छैन । पार्टी भन्दा पनि देशले जित्नुपर्छ । स्वर्गीय गिरिजाबाबुलेपनि भन्नुभएको कुरा यहाँहरुलाई याद होला कि उहाँले भन्नुभएको थियो । देशले हार्नुहुँदैन । पार्टी हार्दा केही फरक पर्दैन । त्यसैले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउनुपर्छ । अबको एजेण्डा भनेको नै संविधान कार्यान्वयन गर्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ भन्ने नै हो ।

तर पहिलो चरणको निर्वाचनको मतपरिणाम आउँदै गर्दा जनताले एमालेलाई रोजेको देखियो नि ?

लोकतान्त्रिक अभ्यासमा के हुन्छ भने धेरै पार्टीहरु हुने, अनि जनतासमक्ष पुग्ने अनि जनताहरुका माँग पूरा गर्छु, यो गर्छु भन्ने भएकोले त्यसमा प्रतिष्पर्धा हुने भएकोले यसलाई नेपाली कांग्रेसले अनौठो मान्दैन् । सबै आन्दोलनहरु नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ । कांग्रेस मुलुकमा एकचोटी कमजोर हुँदाखेरि देश कमजोर हुँदो रहेछ भन्ने जनताले बुझेका छन् । ०६४ सालको निर्वाचनको याद सबैलाई छ । हाम्रो पार्टीको कम सिट आएको कारण संविधान बन्न सकेन । पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाको निर्वाचन ०७० मा हुँदा कांग्रेस पहिलो पार्टी भयो र संविधान जारी हुनपनि सक्यो । त्यसकारण नेपाली कांग्रेस कमजोर हुँदा मुलुक र जनता नै कमजोर हुन्छन है भन्ने कुरा नेपाली जनताहरुले राम्रोसँग बुझ्नुभएको छ । त्यसकारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि हाम्रो पार्टी पहिलो पार्टीको हैसियतमा नै रहन्छ । हामी विजयी हुन्छौं । यसमा मलाई विश्वास छ ।

यो पटकको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्यो, यसले कांग्रेसलाई नै घाटा पुर्यायो रे नि ?

त्यस्तो त मलाई लाग्दैन । तालमेलका कारण कांग्रेसलाई घाटा भएको कुरा मलाई चाहीँ व्यक्तिगत रुपमा महशुस भएको छैन । तालमेल त हेर्नुहोस ने अरु पार्टीहरुको पनि भएकै छ । हामी लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्नेहरुवीच तालमेल हुनसक्छ । यस्तै खाले तालमेल र गठबन्धनले नै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्छ । यसर्थ तालमेल अझै जरुरी छ । यदि यो व्यवस्थालाई संस्थागत गर्ने हो भने तालमेल अझै बढि नै गर्नुपर्छ । तपाईहरुलाई राम्रोसँग थाहा छ, कुनै पार्टीको एजेण्डा भनेको नै राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र छ । संसदमा यो कुरा दर्ज भएको छ । त्यस्ता तत्वहरुले टाउको उठाउँदाखेरि त्यति धेरै ठूलो संख्यामा जनताहरुले बलिदान गरेरे प्राप्त भएका उपलब्धिहरु गुम्ने खतरा बढ्छ ।

तर कांग्रेस र माओवादीवीच सैद्धान्तिक रुपमा आकाश र जमिनको फरक छ नि ?

छैन । अहिले छैन । कुनै बेला थियो । माओवादी केन्द्र लोकतान्त्रिक प्रक्रियामा आईसकेको छ । माओवादी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था छिरिसकेको हुँदा अब एउटा मात्रै एजेण्डा भनेको समृद्ध नेपाल बनाउने हो । कांग्रेसको एजेण्डाभित्र सबै पार्टीहरु आईसकेका छन् ।

उसो भए तपाईहरु अब मुलुकलाई आर्थिक समृद्ध बनाउन सक्नुहुन्छ त ? नेतृत्वसँग त्यो साहस छ ?

एकदमै छ । हामी सक्छौं । एकदमै चाँडो भन्दा चाँडो हामी आर्थिक समृद्धि हाँसिल गर्न सक्छौं । स्थानीय तहको निर्वाचन लामो समयसम्म नहुँदा विकास निर्माणका कार्यहरु अवरुद्ध भएका थिए । अब स्थानीय तहको निर्वाचन पनि भैसकेको छ । अन्र्तराष्ट्रिय क्षेत्रबाट आउनुपर्ने लगानी पनि नआईरहेको अवस्था थियो, तर अब व्यवस्थाले गति लिईसकेको छ । अब सबै अवरुद्धहरु सूचारु भएका छन् ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुन्छ ?

तोकिएै मितिमा निर्वाचन हुन्छ । सरकारले निर्णय गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालल प्रचण्ड र हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी बसेर नै यो मिति तय भैसकेको हो । अब उहाँहरु यसबाट एक ईन्चपनि तलमाथि हुनुहुन्न । जेठ ३१ गते नै दोस्रो चरणको निर्वाचन हुन्छ । सबै जना ढुक्क भए हुन्छ।

अनि बजेट चाहीँ कहिले ल्याउने ? जेठ १५ मै ल्याउने कि चुनावपछि ?

१९ वर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन भैरहेको छ । राजनीतिक गतिहिनताको अवस्थाबाट मुलुक गुज्रेको लामो समय भयो । यसो भएको कारणले निर्वाचन पहिलो प्राथमिकतामा रहन्छ । तर बजेट वर्षैपिच्छे आउँछ । यसमा त्यति धेरै चिन्ता लिनुपर्दैन ।

कांग्रेस र माओवादी केन्द्रवीच सहमति भए अनुसार अब शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने होईन र ? चुनाव त सम्पन्न भैसक्यो त ?

हो, अब उहाँ(शेरबहादुरजी) नै प्रधानमन्त्री बन्नुहुन्छ । संविधान संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने अवस्था भयो भने एक दुई दिन ढिला होला । नभए उहाँले आजै राजिनामा दिनुहुन्छ ।

भनेपछि काँग्रेस र माओवादी केन्द्रवीचको गठबन्धन कायमै रहन्छ ?

हो । यो गठबन्धन लामो समयसम्म जान्छ ।

प्रधानमन्त्री प्रचण्डले सहमति तोड्नुभयो भने ?

हामीलाई विश्वास छ, उहाँले सहमति तोड्नुहुन्न ।



प्रतिक्रिया दिनुहोस्