Logo

सुरक्षाबारे शीर्ष नेतासँग छलफल गर्छौं : निर्वाचन आयोग



काठमाडौँ, ६ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती देखिएपछि आयोगले दोस्रो चरणमा त्यस्ता घटना नदोहोरियोस् भनी आयोगले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको हो ।

स्थानीय तह निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिको आज निर्वाचन आयोगमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न निर्देशन होस् भन्नाका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न लागिएको जानकारी दिनुभयो ।

आयुक्त शाहले भन्नुभयो – “आयोग दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक र साम्प्रदायिक सद्भाव नखल्बलियोस्, यसले अप्रिय वातावरण सिर्जना नहोस् भन्ने चाहन्छ ।”

निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था हँुदाहुँदै पनि पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको द्वन्द्व र मुठभेडले दोलखालगायतका जिल्लामा अनपेक्षित रुपमा घटना भएपछि आयोगले थप सजगता अपनाउन राजनीतिक दललाई आग्रह गर्ने पनि भएको छ ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलबीचमा निरन्तर सम्पर्क, सहयोग र समन्वयको वातावरण सिर्जना गर्न राजनीतिक दलहरुको जिल्लास्तरीय संयन्त्रलाई अझ बढी सक्रिय र प्रभावकारी तुल्याउन आवश्यक भएको आयोगको ठहर छ ।

पहिलो चरणको निर्वाचनमा देखिएका सवल पक्ष र एकाध ठाउँमा भएका कमी कमजोरीको समग्र मूल्याङ्कन र विश्लेषण गर्दै बैठकले पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्था गरेकोमा सरकार र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले दोस्रो चरणको निर्वाचनमा पनि सुरक्षा निकायबीचको सहकार्य र समन्वय अझ प्रगाढ हुने विश्वास लिएको छ ।

बैठकले पहिलो चरणको निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको समीक्षा र मूल्याङ्कन गर्दै दोस्रो चरणको निर्वाचनको जोखिम र सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरेको आयुक्त शाहले बताउनुभयो ।

बैठकमा गृहमन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीतिगत परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उक्त सुरक्षा समितिको बैठकमा निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, आयोगका सचिव गोपीनाथ मैनाली, गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, रक्षामन्त्रालयका सचिव श्रीधर सापकोटा तथा चारवटै सुरक्षा निकायका प्रमुख एवम् उच्च पदाधिकारी सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्