Logo

मधेशमा एमालेले टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियोसहित)



राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि दोस्रो चरणको निर्वाचनमा एमाले मधेशमा पत्तासाफ हुने घोषणा गरेका छन् । हिमालय टेलिजिभनमा प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । ठाकुरसँगको कुराकानीको सम्पादित अंश :

तपाईहरु दोस्रो चरणको निर्वाचनमा भाग लिनु हुन्छ या लिनु हुँदैन ?

हामीले भन्दै आएका छौँ कि पहिला संविधान संशोधन हुनुपर्छ । वातावरण निर्माण गर्नुपर्छ ।

संविधान संशोधनको लागि दुईतिहाई छैन नि ?

बहुमत छ नि ।

बहुमतले संशोधन सम्भव छैनन नि ?

संशोधनको समस्या संविधानको डा«प्ट ल्याएदेखि नै हामीले भन्दै आएका छौँ। हामीले राख्दै आएका कुराहरू कहिल्यै सुन्ने काम भएन । यो संविधान लागु गर्नको लागि मूख्य तीन दलले भूमिका खेल्नुपर्छ ।

९० प्रतिशतले बनाएको संविधानलाई तपाईले नमान्ने ?

कहाँ रह्यो ९० प्रतिशत ? अहिले बहुमत पनि छैन् । जो संविधानले जनताको समस्या समाधान गर्न नसक्ने संविधान ९० प्रतिशत राम्रो कसरी हुन्छ ? अहिले बल्ल संशोधन गर्नुपर्छ भन्नेमा पुगेको छ ।

प्रजातन्त्र, लोकतन्त्रको लागि लडेको नेताको हैसियतमा भन्नुस त जनताले बनाएको संविधान सबैले मान्नुपर्छ कि पर्दैन ?

यो संविधानमा पहिले नै औंला उठिसकेको छ । जुन संविधानमा धेरै समस्या छन् । भविष्यको पथलाई फराकिलो बनाउने काम समावेश छैन् । संविधान जारी नहुँदै यो संविधानमा धेरै कुरा छुटेका छन् भनेर हामीले भनेका थियौं।

आजको संविधानले मधेशी जनताको माँग सम्बोधन गरेको छैन ?

कहाँ गरेको छ ? जनसंख्याको आधारमा स्थानीय तह निर्धारण गर्ने भनेको के गरेको छ ? गाउँपालिकाको जनसंख्या र नगरपालिकाको जनसंख्या बराबर छ । यस्तो पनि समानता हुन्छ।

एमालेले कुनैपनिख हालतमा थप्न मिल्दैन भनेर भनिसक्यो ?
मैले एक्दमै सुनेको छु । राम्ररी बुझेको छु । जहिले पनि उल्टो उल्टो बोल्छ । मधेश र पहाड बीचको फाटो ल्याउने काम एमालेका नेता कार्यकर्ताले गरेका हुन ।

एमालेले अहिलेको चुनावमा पहिलो स्थान हाँसिल गर्यो नि, एमालेको जनमलाई मान्नु हुन्न ?

तराईमा खुट्टा टेक्न नसक्ने कुरा ठुला गरेर हुन्छ ?

तर एमालेले त अहिलेपनि मधेशमा जितेर आउने दाबी गरेको छ?

आउँदै छ नि निर्वाचन । हेरौंला नि कसले के गरेर आउँछ । यस्तै हालतमा निर्वाचन गरेको खण्डमा झन स्थिति बिकराल बन्छ । यसै हालतमा निर्वाचनमा जाँदैनौँ ।

आज सबैको चाहना निर्वाचन हो तपाईहरु चाहीँ किन उल्टो दिशामा हिँडिरहनुभएको छ?

हाम्रा अधिकार सम्बोधन नभईकन हामी किन जाने ? हामीलाई हेप्न मिल्छ ? मुखले गर्छु भन्ने अनि व्यवहारमा लागु नगर्ने यस्तो पनि हुन्छ ? मधेशमा मर्ने जनता होईनन् । अधिकार प्राप्त नगरी कन कसरी मधेशी जनता खुशि हुन्छन् ।

उसो भए यही अवस्थामा तपाईहरू निर्वाचनमा भाग लिनुहुँदैन ?

हाम्रा कुरा सबैलाई थाहा छन् । हामीले पटक पटक भनेका छौं । संशोधन प्रस्ताव पारित हुन्छ।

तपाईहरू निर्वाचनमा जानको लागि सरकारले के–के गर्नुपर्छ ?

जो गल्ति भएका छन् ती सुधार गर्नुपर्छ । संविधानमा गल्ती छ । सिमाङ्कनको समाधान गर्नुपर्छ । जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण, नागरिकताको बारेमा अन्तरिम संविधानमा जे व्यवस्था छ त्यो राखिदेउ भनेका छौँ । भाषाको हिसावमा अनेक हल्ला चलाईएको छ ।

हिन्दी भाषालाई सरकारी काम चलाउको रुपमा स्थापित गर्नुपर्छ भन्ने तपाईको मान्यता सर्वत्र बिरोध छ नि ?

मधेशमा के हिन्दी भाषा बोल्ने मानिस छैनन् ? उनीहरु नेपाली नागरिक होईनन् र ?

हिन्दी भाषा कसरी मातृभाषा हुन सक्छ ? मधेशमा अनादी कालदेखिको मैथली, भोजपुरी, अवधि भाषालाई त संविधानले मान्यता दिएको छ त ?

राज्य मानिसले बनाएको हो । चन्द्रमालाई कसैले आफ्नो हो भन्न सक्दैन । यो राज्यमा बस्ने नागरिकले यो देशमा अधिकार सम्पन्न हुन पाउँदैन । आज लुम्बिनीको हालत के छ ? राजविराजको हालत के छ ? एक समयमा मधेश ऐतिहासिक थियो ।

नेपाली भाषालाई सबैले स्विकार गरेको स्थितिमा तराई, पहाड र हिमाल जोड्ने काम यसले गर्छ भने तपाईको विमति किन ?

नेपाली भाषा कसलाई भन्ने ? कामकाजको एउटा, कर्मचारीको एउटा ? कसलाई भन्ने नेपाली भाषा ?

हिन्दी भाषालाई सरकारी काम काजको रुपमा बनाउनुपर्छ भन्ने तपाईको अडान हो ?

हिन्दी भाषाको कुरा होईन । यहाँ मातृभाषाको कुरा हो ।

उसो भए तपाईको मातृभाषा के हो ?

हाम्रो मैथलि हो । तर बहुभाषि नीति हुनुपर्छ । हरेक भाषाले राष्ट्रिय दर्जा पाउनुपर्छ ।

त्यो सम्भव छ ?

किन नहुने । सम्भव छ ।

सबै नेपालीले यो भाषा बुझ्छन् ?

नबुझेपनि मान्यता दिन मिल्छ नि । नेपालीभाषामा के भारतमा सरकारी कामकाजको रुपमा प्रयोग भएको छ ? त्यहाँ नेपाली भाषालाई मान्यता दिएको छ त ।

राजपाका नेता भनौ या महन्थ ठाकुर र महेन्द्र यादव देश विखण्डनमा लागेका छन् भन्ने आरोप छ नि ?

भन्नेहरू नै विखण्डनवादी हो । मधेशी र पहाडिया भनेर विभेद गरिरहेको छ। यो एमाले नै यसको डिजाईनर हो ।

सबैले नचाहेको तर मेचीदेखि महाकालीसम्म दुइ प्रदेश किन चाहियो तपाईलाई ?

दुःखको कुरा हो । तपाई नेपाली नागरिक भन्नुहुन्छ । तर नेपालको समस्या थाहा छैन् । यहाँ बर्षौँदेखि भाषा, संस्कृति, भेग, जातीको हिसाबमा विभेद गरिएको छ । लैङ्गीक आधारमा विभेद छ। जनजाति र हाम्रो माँग यही हो ।

सबैको विमति छ नि ?

विधेयक आएको छ । त्यसलाई कार्यन्वयन गर्ने हो ।

एमाले शीर्ष नेताहरु यतिबेला कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने भनेर लागेको छ ?

एमाले यति बेला अल्पमतमा छ । बहुमत संशोधनको पक्षमा छ । एमाले अल्पमतमा छ । उसका कुरा किन सुन्ने ? नेताले यसको समाधान गर्न सक्नुभएन भने जनताले फैसला गर्छन् ।



प्रतिक्रिया दिनुहोस्