Logo

उपेन्द्रले गराए एकैदिन पूर्वसांसददेखि हजारौं कार्याकर्तालाई फोरममा प्रवेश



काठमाडौं ८, जेठ । दशकौपछि हिमालदेखि मधेशसम्म चुनावको रौनक छाएको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अचेल विभिन्न पार्टी परित्याग गरेर आउने नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन भ्याईनभ्याई छ ।

पहाडदेखि मधेशका अधिकांश जिल्लामा एकैपटक भईरहने बृहत् पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टीका प्रभावशाली नेतालाई समेत भित्र्याउन पनि उनलाई भ्याईनसक्नु छ ।
परिमार्जनसहित संविधान संशोधनका लागि सरकार तम्तयार भएर बसेपनि त्यो पारित गर्न संसदमा गणीतिय संख्या नपुगेर मात्रै संशोधनको एजेन्डा रोकिएको देखेपछि संघीय समाजवादी फोरम नेपाल स्थानीय चुनावमा होमिइसकेको छ ।

पहिलो चरणको चुनावमा उम्मेदबारी दिएर चुनावी मैदानमा उत्रिएको फोरम नेपाल अहिले स्थानीय निकायको दोस्रो चरणको चुनावको लागि व्यापक तयारीमा जुटेको छ ।

६ वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपा लगायतका केही दलहरुले उपेन्द्र यादवलाई मधेशको मुद्दा छाडेर चुनावमा गए भन्दै आरोप लगाईरहँदा मधेश लगायतका जिल्लाहरुमा फोरम नेपाल प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ ।

आज सोमबार मात्रै बाँके, पर्सा र सिरहाबाट कांग्रेस, एमाले र माओवादी परित्याग गरी हजारौंको संख्यामा प्रभावशाली नेता कार्यकर्ताहरुको समूह फोरम नेपाल प्रवेश गरेको छ ।

यसैबीच, आज मात्रै नेकपा एमालेका पूर्व सभाषद् प्रद्युमन चौहान र केन्द्रीय सदस्य प्रहलाद गिरीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । एमालेका केन्द्रिय सदस्य गिरी र पूर्वसभासद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति चौहानले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

पर्सामा एमालेका दुइ चर्चित नेताहरुले वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपालमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत् घोषणा गरेका छन् ।

मधेसी दलहरुले उठाएका माग जायज भएर पनि त्यसलाई सम्बोधन गर्न एमाले नेतृत्व नै मुख्य बाधक बनेको र एमाले शीर्ष नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेकाले एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्न बाध्य भएको दुवै नेताको भनाई छ ।

त्यस्तै, नेपाली कांग्रेस बाँकेका पूर्व जिल्ला सचिव विजयबहादुर यादवले पनि आजै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । उनीसँगै कांग्रेसका ठूलो समूहमा सक्रिय कार्यकर्ताहरु पनि फोरम नेपालमा आबद्ध भएका छन् ।

आजमात्रै सिरहामा पनि विभिन्न परित्याग गरि पाँच सय भन्दी बढी नेता कार्यकर्ताको समूहलाई उपेन्द्र यादवले पार्टीमा भित्र्याएका छन् ।  माओबादी केन्द्रका पूर्वनगर प्रतिनिधि ओम गोईतको नेतृत्वमा दुई सय कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।

सिरहा क्षेत्र नं. ६ को एमालेका गुदन गोईत निर्दानाको गाविसका पूर्व अध्यक्ष दिपेन्द्र यादव,  माओवादी केन्द्रका क्षेत्रीय कमिटीका वरिष्ठ नेता बिष्णुपुर गाविसका मोहित यादव एमाले पनि फोरम प्रवेश गरेका छन् ।

राजपा लगायतका केही दलहरुले उपेन्द्र यादवलाई मधेशको मुद्दा छाडेर चुनावमा गएको आरोप लगाए पनि त्यो आरोपलाई खण्डन गर्दै मधेशका नेता कार्यकर्ता स्वयंले फोरम नेपाल प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ ।

यसअघि पनि कांग्रेस, एमाले र माओवादी लगायतका अन्य मधेश केन्द्रीय दलहरुलाई परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरिसकेका छन् ।
सम्बन्धित शीर्षकहरु



प्रतिक्रिया दिनुहोस्