Logo

निर्वाचन आयोगको टोलीले बयान लिन थाल्यो



काठमाडौं १६ जेठ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहँदा केही व्यक्तिले मतपत्र च्यातेको विषयमा छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले सत्यतथ्य बुझी प्रतिवेदन पेस गर्न आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गर्ने निर्णय गरेको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

समितिका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी नायब महानिरीक्षक रहनुभएको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न भएको थियो ।

वडा नम्बर १९ को मतगणना जारी रहेको समयमा जेठ १४ गते राति ११ः३० बजे मतगणना स्थलमा रहेका दलका प्रतिनिधिमध्ये केहीले मतगणना स्थलमै प्रवेश गरी मत गणकसँग रहेको तथा अन्य मतपत्र च्यात्ने कार्य गरेको प्रतिवेदन आयोगमा प्राप्त भएपछि सो समिति गठन भएको हो ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले अलग–अलग प्रतिवेदन आयोगमा पठाउनुभएको छ ।
प्रवक्ता शर्माले आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा ३ बमोजिम अनुगमन टोली गठन गर्ने निर्णय गरेको बताउनुभयो ।

अनुगमन टोलीलाई सोमबार नै घटनास्थलमा पुगी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरी बलको टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग छलफल गरी यस सम्बन्धमा के कसो भएको हो ? सत्यतथ्य बुझी जेठ १७ गतेभित्र आयोगमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले के कति मतपत्र च्यातिएको हो, यकिन नभएको र मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने सयौँ मतपत्र च्यातेको तथा मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको आयोगले जनाएको छ ।

यसैगरी राससकाअनुसार, भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा गए राति मतपत्र च्यातिएका विषयमा निर्वाचन आयोगले आज गठन गरेको छानबिन टोलीले जिल्लामा आएर काम सुरु गरेको छ ।

टोलीका संयोजक तिम्सिनाका अनुसार सोमबार आइपुगेसँगै जिल्ला निर्वाचन कार्यालयमा वस्तुस्थितिका बारेमा जानकारी लिइएको छ ।

टोलीले सोमबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रअिज, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग समेत छलफल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्