Logo

यसरी प्रवेश गर्दैछन् मेयर विद्यासुन्दर उपमेयर हरिप्रभा, आज सपथ



काठमाडौं १७ जेठ ।
राष्ट्रिय सभा गृहस्थित सिटी हल रङ्गीचङ्गी साजसज्जाले भरिएको छ । आज बुधबार ११ बजे काठमाडौं महानगरले विद्यासुन्दर शाक्य मेयर र हरिप्रभा खडगी श्रेष्ठलाई उपमेयररुपमा स्वागत गर्दैछ । काठमाडौं महानगरले १५ वर्षपछि जनप्रतिनिधिलाई यसरी स्वागत गर्ने अवसर पाएको हो ।

सुन्धारास्थित जेडीए कम्पलेक्सको ६ औं तल्लामा रहेको काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यकक्ष सजावट गर्दै कर्मचारीहरु ।  बुधबार सिटी हलमा न्यायाधीश दीपेन्द्र अधिकारीले मेयर, उपमेयर र वडा अध्यक्षलाई सपथ गराउने कार्यक्रम छ । त्यसकारण सिटी हललाई झकिझकाउ पारिएको छ । नेवारी साँस्कृतिक झाँकीसहित उनीहरुलाई स्वागत गरिनेछ ।

बुधबार सपथपछि महानगरका नवनियुक्त जनप्रतिनिधीहरुको कार्यक्रम पनि महानगरले बनाएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार सपथपछि मेयर र उपमेयर लैनचौर पुगेर सहीद स्मारकमा माल्यार्पण गर्नेछन् । तर, वडा अध्यक्ष र सदस्यहरु सभागृहबाटै आ–आफ्नो वडामा गएर पदबहाली गर्नेछन् ।

मेयर र उपमेयर लैनचौरबाट रत्पार्कस्थित गणेशमान शान्ति बाटिका पुगेर सर्वोच्च नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नेछन् ।

त्यहाँबाट उनीहरु सिधै सोभाभगवतीस्थित मंगलादेवी सिंहको सालिकमा पुष्प गुच्छासहित मल्यापर्ण गर्ने उनले बताए । कार्कीका अनुसार त्यसपछि कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर पुष्पलाल स्मृतिपार्कमा रहेको पुष्पलालको सालिकमा मल्यापर्ण गर्नेछन् ।

त्यसपछि बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिकमा मल्यार्पण गर्नेछन् । बल्खुबाट मेयर, उपमेयरलगायत महानगरका कर्मचारी बसन्तपुरस्थि कुमारीको दर्शन गरेर महानगरको केन्द्रीय कार्यालय बागदरबार पुग्नेछन् । बागदरवारमा उनीहरुलाई नेवारी झाँकीसहित स्वागत गरिनेछ । त्यसपछि बागदरबारमा मेयर र उपमेयरले बृक्षारोपण गर्ने कार्यक्रम छ ।

त्यसपछि ३ बजे उनीहरुले पदबहाली गर्ने कार्यक्रम छ । सुन्धारास्थित जेडीए कम्पलेक्सको ६ औं तल्लामा मेयर र उपमेयरले आफ्नो कार्यकक्षमा पदबहाली गर्नेछन् ।
४ बजे सबै वडा अध्यक्ष, कार्यकारीको उपस्थितिमा मेयर र उपमेयरले पहिलो बोर्ड बैठक गर्नेछन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्नेछ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्