Logo

तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित



महोत्तरी, १८ जेठ । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने बाढीले जनधनको क्षति हुने डरले रातभरि नै जाग्राम बस्दै आएका स्थानीयवासी आजभोलि सुरक्षित महसुस गर्दै निर्धक्क भई रात बिताउन पाएका छन् ।

करिब ३ वर्षअगाडि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जिइएफको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमपात विस्फोटन जोखिम न्यूनीकरण आयोजनाअन्तर्गत सरपल्लोको छेउबाट बग्ने रातु र जङ्घा नदीमा निर्माण गरिएको तटबन्धले करिब ५०० घरपरिवार सुरक्षित भएका छन् ।

हालसम्म रु दुई करोडभन्दा बढी रकम खर्चिएर सो क्षेत्रमा बसोबास गर्नेलाई बर्खायाममा सुरक्षित बनाउन सफल भएका छन् त्यस क्षेत्रमा तटबन्धनसँगै जिल्ला वन कार्यालयले गरेको वृक्षारोपणले तटबन्धनमा थप मद्दत पुगेको छ ।

बर्सेनि बर्खायाममा अतिजोखिम क्षेत्रमा रहेको सरपल्लोवासीलाई सम्भावित बाढीको खतराबाट बच्न अपनाउन सकिने तरिकासमेत सिकाइएको र बाढीबाट बच्न प्रयोग हुने साधनसमेत हस्तान्तरण गरिएको युएनडिपी र जिइएफका जिल्ला आयोजना अधिकृत दिनेशकुमार साहले बताउनुभयो । उहाँले सरपल्लोमै सेल्टर निर्माण गरिएकाले बाढीको खतरा न्यून गर्न मद्दत पुगेको अधिकृत साहले जानकारी दिनुभयो ।

तटबन्धनसँगै नदीमा बाढी आउने खतरा मापन गरी साइरन बज्ने प्रविधिको प्रयोग गरिएकाले बर्दिवासको कालापानीमै नदीको जलस्तर बढे विभिन्न तीन किसिमको बत्ती र साइरनले खतराको सङ्केत गर्ने आयोजना अधिकृत साहले बताउनुभयो । उहाँले बर्दिवासमै जलस्तर वृद्धि भए सरपल्लोमा समेत जानकारी आउने र सम्भावित खतराको सामना गर्न पर्याप्त समय हुने बताउनुभयो । उहाँले सरपल्लोमै सेल्टरसमेत निर्माण गरिएको बताउनुभयो ।

पाँच वर्षअगाडि बर्सातको मौसममा घर नै बग्ने डरले रातिको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहँदै आएको स्थानीयवासी मनतोरिया देवीले बताइन् । रातु र जङ्घा नदीको सङ्गम रहेको सरपल्लो गाउँ नै हरेक वर्ष डुबानमा परी घरपालुवा जीवजन्तु, खेतबारी र घर नै बग्ने डरले बर्खायाममा हुँदै आएको डर तटबन्ध निर्माणले अन्त्य भएको स्थानीयवासी रामचन्द्र महतोले बताउनुभयो ।

नदीको दुवै छेउमा तारको जालीभित्र ढुङ्गा हालेर तटबन्ध निर्माण भएसँगै सो स्थानमा स्थानीयवासीले धमाधम पक्की घर पनि निर्माण गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्