Logo

बहुविधामा सफल जगतबहादुरको कहानी



उहाँको कला, कौशल, काम गराइको तौरतरिका तथा इमानदारी र निरन्तरको लगनशीलता भएर होला– जीवनमा अहिलेसम्म हत्तपत्त हार व्यहोर्नुपरेको छैन । अझ अर्को भाषामा भन्ने हो भने हर क्षेत्रमा सफलता प्राप्त गर्नु नै उहाँको पर्याय बनेको छ । र त उहाँ बहुविधामा सक्षमताको उपाधि चुम्दै अनि सिँढी चढ्दै शिखरतर्फ लम्कनुभएको छ । लुम्बिनी मेडिकल कलेज बुटवलका सञ्चालक, भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष, पश्चिमाञ्चल एफएमको अध्यक्ष, बुद्ध टेलिभिजनको प्रबन्ध निर्देशक, नवज्योति बोर्डिङ स्कुलको अध्यक्ष, चौतारी माइक्रो फाइनान्स–बैंकको अध्यक्ष, पश्चिमाञ्चल ग्रामीण विकास बैंकको निवर्तमान अध्यक्ष, भिजन लुम्बिनी टुर एण्ड ट्राभल्सको सञ्चालक, नेपाल जेसिसका निवर्तमान राष्ट्रिय अध्यक्ष, कुशल राजनीतिज्ञ–समाजसेवी तथा चर्चित भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलको सन्दर्भ हो यो ।

जगतबहादुरको जन्म विक्रम सम्वत् २०३२ भदौ १ गते पश्चिम नेपालको पाल्पा जिल्ला सदरमुकाम तानसेनबाट ९ किलोमिटर पश्चिममा पर्ने तत्कालीन भैरवस्थान गाउँ पञ्चायत वडा नं.–५ मा चुडाबहादुर पोखरेल र विष्णुकुमारीका १ छोरा तथा १ छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो । उहाँकी बहिनी अनीता हुनुहुन्छ । जगतको बाल्यकाल अन्य साथीसंगीको जस्तै सामान्य ढंगबाट बित्यो । सानैदेखि तीक्ष्ण बुद्धिका उहाँको अलि पृथक् स्वभावको हुनुहुन्थ्यो । त्यस्तै ५ वर्षको उमेरमा उहाँलाई घरबाट २ कि. मि. दूरीमा रहेको श्री भैरव जनता माध्यमिक विद्यालयमा भर्ना गरियो । उसो त केही उचाइमा रहेको भैरवस्थान गाउँ न हो, पानीको अलि संकट नै थियो त्यो समयमा । बिहान उठेर घरबाट करिब ३ सय मि. टाढाको धारामा गएर सदा २ खेप पानी बोक्ने अनि केही समय लेखपढ गरी खाना खाएर बिहान साढे ९ बजे विद्यालय जाने गर्नुहुन्थ्यो उहाँ ।

दिउसो १ बजेचाहिँ १५ मिनेटका लागि खाजा खाने छुट्टी हुन्थ्यो । ‘त्यतिबेला घरबाट खाजा लाने वा स्कुलमा नै किनेर खाने चलन थिएन, यसो मौसमअनुसार कहिले काफल, कहिले अमिलो त कहिले बिस्कुट–दालमोठ खाइन्थ्यो’ आफ्नो वाल्यावस्था स्मरण गर्दै जगत भन्नुहुन्छ– ‘तर जे होस् साथीसँग त्यसरी रम्दा समग्रमा रमाइलो हुन्थ्यो ।’ शुक्र–शनिवार र छुट्टीको दिन भने उहाँ घाँस–दाउरा गर्न तथा गोठालो जानुहुन्थ्यो । गाउँको मध्यमवर्गीय श्रेणीमा पर्ने उहाँको परिवारको मुख्य पेशा नै कृषि र पशुपालन थियो त्यतिबेला । र त घरमा केही संख्यामा गाई, भैंसी, बाख्रा र कुखुरा पालिएको थियो । यद्यपि बुबा चुडाबहादुर भने प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो । जगतको यस्तो दिनचर्या कक्षा ८ पढ्दासम्म चल्यो । यस्तैमा २०४८ मा उहाँले भैरव जनताबाटै एसएलसी पास गर्नुभयो ।

अब भने जगतको दैनिकीमा केही परिवर्तन आयो । उहाँ पाल्पाबाट रुपन्देहीमा पर्ने बुटवल बजार झर्नुभयो । त्यतिबेला उहाँहरुको संयुक्त परिवार थियो, काकाहरु मानबहादुर, गोपाल र कृष्णले २०३६÷०३७ देखि बुटवलमा फेन्सी पसल सञ्चालन गर्दै आउनुभएको थियो । हुन त २०४१÷४२ मा बुबा चुडाबहादुर सेवानिवृत्त हुनुभएपछि उहाँले समेत बुटवलमा नै भाडा पसल राख्नुभएको थियो यद्यपि जगत बुबासँग होइन– काकाहरुसँग पसलमा बस्न थाल्नुभयो र बुटवल बहुमुखी क्याम्पस भर्ना भएर बिहानीको समयमा अध्ययनलाई अघि बढाउनुभयो । किन त बुबासँग पसलमा नबसेर काकासँग रम्नुभयो ? उत्तरमा उहाँ खुलासा गर्नुहुन्छ– ‘सानैदेखि पुलिस भनेपछि कता–कता डर लाग्थ्यो । फेरि बुबा कहिलेकाहीँमात्रै भेटिने भएर होला कडा र सामीप्यबाट टाढा भएजस्तो लाग्थ्यो ।’ तथापि त्यो भय लामो समय भने टिकेन, २०५४÷५५ सम्म चल्यो ।

त्यसपछि उहाँ बुबासँगै भाडा पसलमा बस्न थाल्नुभयो । अध्ययन र व्यापारको सिलसिला अघि बढ्दै थियो । त्यही अन्तरालमा जगतको आत्मीयता बुटवलकै समकक्षी रमेश भण्डारीसँग बढ्यो । यस अर्थमा त उहाँहरुले संयुक्त लगानीमा ‘जुनियर्स टुर एण्ड ट्राभल्स’ नामक कम्पनी खोल्नुभयो । ‘सुरुमा रमेशले २ र मैले २ लाख लगानी ग¥यौं, अपुग रकम पश्चिमाञ्चल फाइनान्सबाट निकाल्यौं’ आफ्नो प्रगतिपथप्रति जगत गौरव गर्नुहुन्छ– ‘एउटा जिपबाट सेवा थालनी गरेका हामीले २ वर्षमा १२ वटा पु¥याऔं ।’ यस्तैमा समयले फेरि घुम्ती लियो, २०५६ बाट उहाँले नयाँ व्यवसाय सुरु गर्नुभयो– बुटवलको अमरपथमा ‘भैरव ब्याग हाउस’ खोलेर । जुन अहिलेसम्म छ र सिंगो परिवार त्यसमा धेरैजसो समय समर्पित गर्नुहुन्छ ।

जगत यतिमा सीमित रहनुभएन, विभिन्न शैक्षिक, सामाजिक संघसंस्थाको अतिरिक्त राजनीतिमा पनि सक्रिय हुनुभयो । सन २००७ मा उहाँ बुटवल जेसिसको अध्यक्ष हुनुभयो । जुन उत्कृष्ट शाखा भयो उहाँ उत्कृष्ट अध्यक्ष बन्नुभयो । २००८ मा नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष बन्नुभयो भने उत्कृष्ट उपाध्यक्ष पनि । त्यस्तै २००९ मा नेपाल जेसिसको कार्यकारी उपाध्यक्ष हुनुभयो । २०११ मा राष्ट्रिय अध्यक्षमा निर्वाचन लड्नुभयो । तर, उपविजेता बन्नुभयो । सन २०१५ मा राष्ट्रिय महासचिव हुनुभयो । अनि २०१६ मा भने नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष नै बन्नुभयो । हाल पनि उहाँ नेपाल जेसिसको सल्लाहकार हुनुहुन्छ ।

आफ्नो कार्यकालमा अनगिन्ती राम्रो र उदाहरणीय काम भएको भन्दै सर्वत्र प्रशंसा बटुलेको अनुभव उहाँसँग छ । त्यसो त जगत लुम्विनी मेडिकल कलेजको सञ्चालक, भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष, पश्चिमाञ्चल एफएमको अध्यक्ष, बुद्ध टेलिभिजनको प्रवन्ध निर्देशक, नवज्योति बोर्डिङ स्कुलको अध्यक्ष, चौतारी माइक्रो फाइनान्स–बैंकको अध्यक्षसमेत हुनुहुन्छ । नेपाल सरकारले मनोनीत गरेको पश्चिमाञ्चल ग्रामीण विकास बैंकको अध्यक्ष पदबाट हालै बिदा लिनुभएको उहाँ भिजन लुम्बिनी टुर एण्ड ट्राभल्सको सञ्चालक हुनुहुन्छ भने अब हुने भनिएको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर ५ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट उपमेयरको टिकट दिने तयारी गरिएको छ । अझ खुसीको पक्ष त के हो भने उहाँ चर्चित भिजन लुम्बिनी लिमिटेडको पनि अध्यक्ष बन्नुभएको छ । हाल ५ सयभन्दा बढी सदस्य रहेको भिजन लुम्बिनीले ६ सय बिगाहा जग्गा किनेको छ ।

सेतीखोला हाइड्रोपावरको लाइसेन्स पाएको उक्त कम्पनीले ३० मेगावाटको ६ सय करोडको योजना अघि सारेको छ ।
जगतको विवाह भने २०५६ फागुन १८ गते बुटवल कालिकास्थानकी आशा खत्रीसँग भएको हो । गुल्मी जुहान स्थायी ठेगाना हुनुभएकी आशा भारतको दिल्लीमा १२ कक्षामा अध्ययन गर्दै गर्दा जगतका नातेदार पर्ने लोकबहादुर टन्डनले आशाको घरमै लगेर भेटाउनुभएछ । ‘आपसमा देखभेट र बोलचाल भयो अनि एकअर्कालाई मन पराएर मागी विवाह गरियो’ जगतको मानसपटलमा त्यो क्षण अझै ताजा छ । हाल उहाँहरुको ९ वर्षकी छोरी हुनुहुन्छ– श्रीया पोखरेल । श्रीया लुम्बिनी बोर्डिङ स्कुल बुटवलमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot