Logo

देउवा निर्विकल्प प्रधानमन्त्री बन्नुहुन्छ : यादव



काठमाडौं, १९ जेठ । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको लागि गरिएको भद्र सहमतिको आधारमा सभापति देउवा प्रधानमन्त्री बन्नेमा कुनै दुईमत नभएको स्पष्ट पारे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘माओवादी केन्द्रसँगै केही साना दलहरू मिलेर नयाँ सरकार बन्ने छ, भोली मनोनयन दर्ता र पर्र्सी संसदमा प्रधानमन्त्रीको लागि निर्वाचन हुनेछ, अब औपचारिकता दिन मात्रै बाँकी छ, ३२५ जना सांसदको मतसहित हाम्रो पार्टी सभापति देउवाजी मुलुकको ४० औँ प्रधानमन्त्री बन्नु हुनेछ, यसमा कुनै दुईमत छैन्।’

नेता यादवले चितवनको विषयलाई लिएर एमालेले संसद अबरोध गरेर गम्भिर गल्ति गरेको आरोप लगाए । उनले भने,‘एमालेजस्तो पार्टीले एउटा वडाको बिषयलाई लिएर संवैधानिक आयोगलाई विचलित बनाउने, भेट्न जाने जस्ता कार्य गर्नु तत्कालको लागि फाईदा भएपनि दीर्घकालिन रुपमा यसले एमालेलाई बहुत घाटा गर्नेछ, हामीलाई निर्वाचन आयोगले जे भन्छ त्यो स्विकार्य छ, संविधानले जे भन्छ त्यो निर्णय स्विकार्य छ।’

उनले एमालले मोर्चाका मागलाई सम्बोधन गरेर संविधानलाई अझ विश्वसनीय र स्वीकार्यतामा सहज हुने स्थितिमा साथ दिनुको साटो दोस्रो चरणको निर्वाचलाई धरापमा पार्न खोजेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्