Logo

आमा–छोरीलाई उपमेयरको टिकट



काठमाडौं २० जेठ ।
नेपाली कांग्रेस झापाले आमा–छोरीलाई उपमेयरको टिकट दिइएको छ । भद्रपुरको उपमेयरमा तारादेवी भुर्तेल र मेचीनगरको उपप्रमुखमा दुर्गा भूर्तेल खतिवडाले टिकट पाएकी हुन् । तारा आमा हुन् भने दुर्गा छोरी । आमा–छोरी नै पार्टीको महाधिवेशन प्रतिनिधि हुन् । आसन्न स्थानीय तह निर्वाचनका लागि पूर्वमहामन्त्री कृष्ण सिटौलाको गृहनगर भद्रपुरको उपप्रमुखमा तारादेवीले टिकट पाएकी छन् । तारा सिटौला निकट कार्यकर्ता हुन् । सिटौला निकट भएका कारण उनलाई टिकट पाउन सहज भएको कांग्रेस कार्यकर्ताहरुको आरोप छ । पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङको गृहनगर मेचीनगरको उपप्रमुखमा ताराकी जेठी छोरी दुर्गाले टिकट पाएकी हुन् ।

मुख्य पदमा एकै परिवारका दुई जनाको उम्मेदवारी जिल्लाकै पहिलो घटना हो । भद्रपुर १४ निवासी ७१ वर्षीया तारा लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय छिन् । यो उमेरमा पनि उनी पार्टीमा सक्रिय रुपमा लागेकी छन् । ‘पार्टीप्रति उहाँको योगदान मूल्यांकन गरेर जिम्मेवारी दिइएको हो’, भद्रपुर नगरका मेयरका उम्मेदवार गणेश पोख्रेल भन्छन्, ‘पाको उमेरमा पनि पार्टीप्रति प्रतिवद्धता भएर लाग्नु चानचुने कुरा होइन् ।’

भद्रपुर नगरका मेयर र उपमेयर दुवै पद सिटौला निकटले पाएका छन् । तारा पछिल्लो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार पनि थिइन् । तर, सभासद् हुने अवसरचाहिँ पाउन सकिनन् । स्रोतका अनुसार पार्टीले त्यही बखत स्थानीय तह निर्वाचनमा महत्वपूर्ण जिम्मेवारी दिने प्रतिवद्धता जनाएको थियो । उपमेयरको टिकट पाएपछि ताराले प्रतिक्रिया दिइन्, ‘पार्टीले दिएको जिम्मेवारीलाई कुनै हालतमा खेर जान दिने छैन ।’

झापा धुलावारी निवासी दुर्गा २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय छिन् । जनआन्दोलन ६२/६३ मा सक्रिय सहभागी उनले कांग्रेसभित्र प्रतिवद्ध कार्यकर्ताको छवि बनाएकी छन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा मेचीनगर १ को वडा सदस्यमा उनी एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । दुर्गा भन्छिन्, ‘पार्टीले विश्वास गरेर टिकट दिएकाले कुनै हालतमा जित हासिल गर्ने छु ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्