Logo

च्याम्पियन लिगमा रियल मड्रिड र युभेन्ट्सबीच रोचक भिडन्त



काठमाडौं, २० जेठ । युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिग फुटबलको उपाधिका लागि आज साविक विजेता रियल मड्रिड र इटालीको च्याम्पियन युभेन्ट्स भिड्दै छन् ।

वेल्सको कार्डिफस्थित मिलेनियम रंगशालामा आज(शनिबार) राति हुने फाइनल निकै रोचक हुने अनुमान गरिएको छ । युरोपियन कप र च्याम्पियन्स लिग गरी अहिलेसम्म ११ पटक उपाधि जितेको रियल मड्रिड यसपटक पनि उपाधि जित्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो वर्ष उपाधि जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ ।

युरोपियन कपका नामले प्रतियोगिता हुँदा एसी मिलानले सन् १९८९ र १९९० मा उपाधि जिते पनि च्याम्पियन्स लिगका नामबाट अहिलेसम्म लगातार दुई वर्ष कुनै टिमले उपाधि जितेका छैनन् ।

रियल मड्रिडले गएको वर्ष घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो । यस्तै आज मैदान उत्रँदा इटालियन च्याम्पियन युभेन्टस चौथोपटक उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

आजको खेल जिते रियल मड्रिडको पछिल्लो चार वर्षमा तेस्रो उपाधि हुनेछ । पछिल्लो पटक सन् १९९६ मा उपाधि उचालेको युभेन्टस उपाधिको लामो भोक मेटाउने ध्यान्नमा छ ।

विश्व फुटबलका महारथी खेलाडी रियल मड्रिडको बलियो पक्ष हो भने विपक्षीलाई त्रस्त बनाउने आक्रमण र बलियो रक्षापंक्ति युभेन्टसको हतियार हो ।

कार्डिफ फाइनल रियल मड्रिड र युभेन्टसबीच युरोपियन कप र च्याम्पियन्स लिग मा १९ औं भेट हो । यो प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरैपटक खेलिएको दोस्रो फिक्सर हो । प्रतियोगितामा बार्यन म्युनिख र रियल मड्रिडबीच २४ पटक खेल भएको छ ।

यसअघिका १८ खेलमा रियल र युभेन्टस दुवैले ८/८ खेल जितेका छन् । दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक यी दुई बीच सन् १९९८ को फाइनलमा भेट भएको थियो ।

त्यसमा रियल मड्रिड १–० को जितसहित उपाधि उचाल्न सफल भयो । आजको खेलमा युभेन्टस रियलसँग यो हारको बदला लिने चाहनामा पनि हुनेछ । एजेन्सीको सहयोगमा 

 



प्रतिक्रिया दिनुहोस्