Logo

बालकोट पुगेको देउवालाई के भने ओलीले ?



काठमाडौं २१ जेठ ।
प्रमुख प्रतिपक्ष एमालेले संसद अबरोध नगरे कांग्रेस सभापति शेरवहादुर देउवा आईतबार मुलुकको ४० औं प्रधानमन्त्री बन्ने छन् । तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति नबनेकाले आइतबारको प्रधानमन्त्री निर्वाचन कार्यक्रम प्रभावित बन्ने सम्भावना प्रवल छ । प्रधानमन्त्री निर्वाचनका लागि शनिबार देउवाको मात्रै मनोनयन परेको हो । उम्मेदवार दिने/नदिने भन्नेमा अलमल गरेको प्रमुख प्रतिपक्ष एमालेले अन्तिम समयमा कसैलाई पनि अघि बढाएन ।

देउवाले ज्योतिष साइत हेराएर बिहान साढे ११ बजे संसद भवन बानेश्वरमा मनोनयन दर्ता गरेका थिए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान सत्ता गठबन्धनमा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, नेकपा (सयुक्त) का जयदेव जोशी, अखण्ड नेपालका कुमार खडका र समाजवादी जनता दलका प्रेमबहादुर सिंहको समर्थनमा उनको मनोनयन दर्ता भएको हो ।

एउटा मात्रै मनोनयन परे पनि संसद नियमावली २०७३ अनुसार प्रधानमन्त्री निर्वाचनको प्रस्तावलाई सभामुखले संसद बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्छ । उम्मेदवारी उपर मत विभाजन गर्दा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट पारित भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित हुने कानुनी व्यवस्था छ ।

हाल कायम सांसद सदस्य संख्या ५ सय ९३ भएकाले बहुमत पुर्‍याउन २ सय ९७ सांसद भए पुग्ने भए पनि देउवाको पक्षमा ३ सय ११ सांसदको समर्थन देखिन्छ । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री निर्वाचनको पक्षमा राप्रपा, मधेस केन्द्रित दलसहित केही साना दलको समेत समर्थन हुने दाबी गरे । देउवाले समर्थनको आग्रहसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई लिखित पत्र पठाएका छन् । आफूलाई समर्थन गर्न देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राजापाका नेताहरुसंग छलफल गरेका थिए । अन्य दलका नेताहरुसँग देउवाले सिंहदरबारबाटै फोनमा कुराकानी गरेका थिए ।

राजपा नेताहरुले ‘आफू सरकारमा नजाने, तर समर्थन गर्ने’ संकेत दिएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा देउवा भेट्न गएका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झाले विगतको सहमति जसले पालना गर्छ, उर्सैलाई समर्थन गर्ने भन्दै सकारात्मक संकेत दिएका हुन् । आइतबार बिहान बस्ने राजपा बैठकले यसबारे निर्णय लिनेछ । ‘सरकारमा जादैनौं, हाम्रो माग जसले पूरा गर्छ, उसैलाई बाहिरबाट समर्थन गर्छौंं,’ महतोले भने, ‘कांग्रेससग कुरा नमिल्ने अवस्था छैन, बैठक बसेर यसको औपचारिक निर्णय गर्छौं ।’

प्रधानमन्त्री दाहालले कांग्रेससंगको समझदारी अनुसारै आफूले खुसीसाथ सरकार त्यागेको बताए । विभिन्न घात, प्रतिघातको अन्त्य गर्दै विश्वासको राजनीतिको थालनी गर्ने काम आफूले गरेको बताउदै दाहालले संचारकर्मीसंग भने, ‘देउवा नेतृत्वको सरकार पनि अहिलेकै गठबन्धबाट बन्ने हो, पूर्व सहमतिअनुसार यसले बाँकी काम पूरा गर्नेछ ।’

प्रफुल्ल देखिएका देउवाले भने संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री निर्वाचित भएपछि नै प्रतिक्रिया दिने भन्दै भिडबाट बाहिरिए । तर वर्तमान गठबन्धनका सूत्राधार मध्येका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पहिलोपटक बहालवाला प्रधानमन्त्री नै प्रस्तावक बसेर नयाँ प्रधानमन्त्रीको चुनाव हुन लागेको बताए । नयाँ सरकार पनि अहिलेको जस्तै गठबन्धनकै चरित्र अनुसार चल्ने उनको भनाइ थियो ।

सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति नबने प्रधानमन्त्री निर्वाचन कार्यक्रम प्रभावित हुनेछ । कांग्रेस सभापति देउवाले संसद अवरोध खुलाउने र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति जुटाउन साँझ एमाले अध्यक्ष केपी ओलीलाई निवासमै गएर भेटवार्ता गरेका थिए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई संगै लिएर गएका देउवाले आफू सहमतिका साथ अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री निर्वाचनका लागि संसद अवरोध नगर्न आग्रह गरेका थिए । भेटमा ओलीले संसदमा जानकारी नगराईकनै प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाईएको र भरतपुर महानगरपालिका-१९ को पुन:मतदान गराउने निर्णय भएकोप्रति आपत्ति जनाउदै देउवासँग आक्रोश पोखेका थिए ।

देउवा र ओली भेटले सकारात्मक परिणाम नदिएपछि प्रधानमन्त्री निर्वाचन केही दिन लम्बिन सक्ने देखिएको छ । तर कांग्रेस नेता रमेश लेखकले राजनीतिक तहमा संवाद जारी भएकाले एमालेले प्रधानमन्त्री निर्वाचन प्रकृया नरोक्ने दाबी गरे । ‘स्थानीय तहको दोस्रो चरणको संघारमा हामी छौ । यस्तो बेलामा मुलुकलाई राजनीतिक अनिश्चयको बाटोमा लैजाने र काम चलाउ सरकारलाई राख्ने काम राम्रो हुन्न’ उनले भने, ‘सरकार बनाउने संसदको आधारभूत कुरालाई अबरुद्ध गरेर संसद अवरोध गर्नु गैरजिम्मेबार हो । एमालेबाट यस्तो काम हुँदैन भन्नेमा विश्वास छ ।’ भरतपुर महानगरपालिकामा मतगणनामा भएको घटनालाई लिएर एमालेले संसद अवरोध गर्दै आएको छ । संसद अवरोधका बीच सभामुख ओनसरी घर्तीले शनिबार सूचनाबाट प्रधानमन्त्री चयनको प्रकृया अघि बढाएकी हुन । प्रधानमन्त्री चयनका लागि भने संसद अवरोध खुल्न पर्छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका(१९ मा पुन: मतदान गर्ने निर्णय लिएपछि एमालेले संसद अवरोध जारी राख्ने निर्णय लिएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्