Logo

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश



काठमाडौं २२ जेठ ।भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ ।

वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित हुनुभएको थियो भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित हुनु भएको थियो ।

वडा नं ४ मा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित हुनुभएको थियो । कम मतले पराजित हुनुभएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्धा दायर गर्नु भएको थियो ।

ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आज अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्