Logo

देउवालाई राजपा, फोरम र राप्रपाको समर्थन



काठमाडौं २२ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

फोरम नेपालले संसदीय दलबाट निर्णय गरी सार्वजनिक गरेको छ भने राजपा नेपालले आफ्नो निर्णय सार्वजनिक गरेको छैन । सभापति देउवासँग लिखित सम्झौता भएपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने राजपाले निर्णय गरेको छ । फोरम नेपालको संसदीय दलका नेता अशोक राईको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रधानमन्त्रीमा सभापति देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मतदानमा सहभागी भए पनि सरकारमा नजाने बैठकले निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसले पत्र पठाएर मधेशको माग अनुसार सविधान संशोधन गर्ने तथा अन्य माग पूरा गराउन प्रयास गर्ने प्रतिबद्धता जनाएका कारणले समर्थन गरेको बताउनुभयो । आफूहरूसँग भएको तीनबुँदे सहमतिका आधारमा गठन भएको यो गठबन्धनलाई निरन्तरता दिए माग पूरा गराउन सजिलो हुने उहाँले बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएपछि संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारूलगायतका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरम नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

फोरम नेपालका सहमहामन्त्री अभिषेकप्रताप शाहले संविधान संशोधन आफूहरूको मुख्य एजेन्डा भएकाले अब बन्ने सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाएकाले समर्थन गर्नमा कुनै आपत्ति नरहेको बताउनुभयो ।

त्यसैगरी राजपा नेपालका महासचिव केशव झाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजपा नेपालले उठाउँदै आएको माग पूरा गर्ने भनी लिखित सहमति गरेपछि मात्र उहाँलाई प्रधानमन्त्रीमा समर्थन गर्ने आइतबारको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानन्त्रीका उम्मेदवार देउवाको पक्षमा मतदान गर्ने निर्णय आइतबारको बैठकमा गरेको छ ।

सो पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको थियो ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभएको थियो ।

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन सकिएको थिएन् । संसदीय दलको साँझ बसेको बैठकले भने देउवालाई समर्थन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्