Logo

कहाँ हराए पराजुली विरुद्ध रिट दायर गर्ने वकिल ?



काठमाडौं २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहेका छन् ।

गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । तर, सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानून व्यवसायी आश्चर्यमा परेका छन् ।

पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानून व्यवसायीसमेत जिल्लिएका छन् ।

गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यसदिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन । त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ ।

गिरी आइतबार पनि सम्पर्कमा आएनन् । सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले निवेदक गिरी सम्पर्कमा नरहेको बताए ।

‘उहाँ सम्पर्कमा आउनुभएको छैन । तारिख थाम्न पाउने म्याद छउन्जेल हेर्नुपर्ने हुन्छ । अकारण तारिख गुजारेमा बेञ्चले कानूनी कारबाही गर्नसक्छ’, उपाध्यायले भने ।

एक वर्षअघि मात्र अधिवक्ताको प्रमाणपत्र लिएका गिरी बनेपा, टुकुचाका स्थायी बासिन्दा हुन् । उनी हाल उच्च अदालत पाटन बार एसोसिएसनको सदस्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्