Logo

क्यान्सर काउन्सिल नेपालको आयोजनामा धादिङ्को खनियावासमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



धादिङ्, २९ जेष्ठ । क्यान्सर काउन्सिल नेपाल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल मेडिकल कलेज जोरपाटीको संयुक्त आयोजनामा धादिङ्को खनियावास गाउँपालिका वडा नम्बर ३ मा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परिक्षण कार्य सम्पन्न भएको छ।

शनिबार र आईतबारगरि दुई दिन चलेको उक्त शिविरबाट करिब ५ सय सर्वसाधरणले लाभ लिएका थिए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार उक्त शिविरमा विशेषगरि हार्डजोर्नी, स्त्री रोग, दाँतको परिक्षण, दम, पेट लगायतका विभिन्न किसिमका रोगको निःशुल्क परिक्षण तथा औषधी वितरण गरिएको थियो ।

बरिष्ठ चिकित्सक डाक्टर मनोज खड्काको नेतृत्वमा गएको उक्त शिविरको टोलीमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत प्रसिद्ध चिकित्सकहरु क्रमशः डाक्टरहरु बलराम विष्ट, नरेश थापा, भोला घिमिरे लगायत सहभागी थिए ।

उक्त शिविरमा दार्खा, झार्लाङ्, सत्यदेवी, गुम्दी लगायत आसपासका मानिसहरुले निःशुल्क सेवा लिएका थिए । धादिङ् जिल्ला सदरमुकाम धादिङवेसीबाट यातायातमा ६ घण्टा लाग्ने उक्त दुर्गम स्थलमा शिविर सञ्चालन गर्न पाउँदा निकै खुशी लागेको काउन्सिलका अध्यक्ष कडरियाले जानकारी दिए ।

त्यस्तै शिविरमा सहभागी सम्पूर्ण सर्वसाधरणहरुलेपनि यस्तो दुर्गम ठाउँमा शिविर सञ्चालन गरेर पुण्य कमाउने काम गरेको भन्दै खुलेरै प्रशंसा गरेका थिए । उक्त क्षेत्रमा विशेषगरि तामाङ समूदाय, अशिक्षित, गरिब, असहाय र भुकम्पपीडितको बाहुल्य रहेको छ।

शिविरमा ६ जनाको पाठेघरसम्बन्धी गम्भिर समस्या र ५ जनामा मुटुको समस्या पाईएको आयोजकले जनाएको छ। शिविरमा सहभागी चिकित्सकहरुलेपनि यस्तो सेवा गर्न पाउँदा आफूहरु निकै खुशी भएको र आगामी दिनमापनि यस्तै दुर्गम ठाउँहरुमा सेवा गर्न ईच्छुक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्