Logo

खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण



बनियानी (झापा), ३० जेठ । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ ।

जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उहाँले बताउनुभयो ।

कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अनुसार खुला चरनका कारण पशुमा खोरेतको सङ्क्रमण देखिएको हो । खोरेतको सङ्क्रमण हुँदा पशुको मुख र खुरमा घाउ हुने, दूध कम दिने र तौल घट्ने चिकित्सक साहले बताउनुभयो ।

खोरेत सात प्रकारको भाइरसको सङ्क्रमणबाट लाग्ने गरे पनि नेपालमा चार प्रकारको मात्र देखापरेको पशु चिकित्सक साहले जानकारी दिनुभयो । “ए, ओ, सी र एसिया वान नामक भाइरस नेपालमा देखापरेको छ” – उहाँले भन्नुभयो ।

जिल्लामा ९० हजार थान खोरेतविरुद्धको भ्याक्सिन आइसकेको र अन्य पशुमा खोरेतको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा आठ हजार थान पठाइएको जानकारी पनि उहाँले दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्